भोजपुर । एमालेको समृद्धिको लागि संकल्प यात्रा खोटाङको दिक्तेल हुदै भोजपुर तर्फ आउँदै गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली संकल्प यात्राका क्रममा भोजपुर तर्फ आउँदै गरेको हो ।
नेकपा एमालेले गत मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा टोलीलाई भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भञ्ज्याङमा पहिलो स्वागत गरिने एमाले भोजपुर अध्यक्ष शरण कुमार राईले बताउनुभयो । जिल्ला सदरमुकामबाट ४२ किलोमिटरको दुरीमा चखेवा भञ्ज्याङ पर्छ ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको अभियान मङ्सिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट सुरु भएको थियो भने आगामी पुष एक गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।
पार्टी अध्यक्ष ओलीबाट सोक्रममा भोजपुरका बिभिन्न कार्यक्रममा सहभागि हुँदै सम्वोधन गर्ने, जिल्लामा बनेको अन्तरािष्ट्रय स्तरको रंगशालाको उद्घाटन गर्ने, माग पत्र बुझ्ने, धातु उद्योगीहरुसँग अन्तरक्रिया, सर्वदलिय माग पत्र बुझ्नेलगायतका कार्यक्रम हुने छन् । टोलीमा सहभागि हुने तीन सय जनाको लागि नेता तथा कार्यकर्ताको गरी ५७ वटा घरमा बस्ने ब्यवस्था मिलाईएको छ ।
यस पटक केन्द्रीय नेताहरूलाई सकेसम्म नेता कार्यकर्ताकै घरमा बास राख्ने योजना बनाई सोही अनुसारको तयारी गरिएको एमाले जिल्ला अध्यक्ष राईको भनाई रहेको छ । ‘अटेसम्म नेता, कार्यकर्ताको घरमा बास राख्छौँ, नअटेकालाई मात्र होटेलमा राख्ने व्यवस्था मिलाएका छौँ, यसबाट नेता, कार्यकर्ता बिचको सामिप्यता बढ्ने विश्वास लिएका छौँ’, अध्यक्ष राईले भन्नुभयो ।
संकल्प यात्राको टोली २७ गते भोजपुरमा बास बसेर बिहिवार जिल्लाको पूर्वी पौवादुङमा र अरुण गाउँपालिकाको हुने कार्यक्रमहरुमा सहभागी हुँदै धनकुटा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले भोजपुरले जनाएको छ ।






