लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ ।
लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।’ पार्टीको विधानले दिएको काम, कर्तव्य र अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र कांग्रेस बलियो हुने र एकल बहुमत ल्याउन सकिने उहाँको भनाइ थियो ।
‘पार्टीभित्रको खाडल चिर्दै एकता र आत्मीयता बढाउँदै कांग्रेसलाई अझ बलियो बनाउन लाग्नुपर्छ’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । सङ्घीयता कांग्रेसको एजेण्डा नभए पनि कांग्रेस, एमाले, माओवादी र तत्कालीन मधेसवादी दलबीचको सहमतिअनुसार कांग्रेसले सङ्घीयता मानेको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशभित्र बस्तीको समस्या रहेको बताउनुभयो । घर भएको ठाउँमा सडक लैजाने कि सडक भएको ठाउँमा घर बनाउने भन्ने समस्या रहेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारले यो समस्याको हल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, डा टकराज गुरुङ, टीका बस्याल, पार्वती तामाङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीलगायत सहभागी हुनुहुन्थ्यो ।रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts