म्याग्दी । आय आर्जन हुने प्रशस्तै स्रोत र सम्भावनाहरु रहेर पनि सरोकारवालाहरुको वेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ ।
समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ नजिकै पर्ने सौरबोट लेकाली फलफूल,जडिबुटी र पर्यटनका लागि महत्वपूर्ण ठाउँ हुँदाहुँदै पनि उपयोग विहीन बनेको छ । यहाँ वर्र्षौदेखि खेती गर्न छाडेको एकसय रोपनीभन्दा धेरै जग्गा बाँझो छ ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्व बोकेको सौरबोट क्षेत्रमा डिम्बर, मैडल, हाडेकाफल, गोफ्लो, ऐँसेलु, जनमन्त्रो, चुत्रो, घँयरु, गुल्टुङलगायत लेकाली फलफुलहरु प्रशस्तै मात्रामा पाइन्छन् । यहाँको वन क्षेत्रमा अहिलेको समयमा निगालोको टुसा र निगुरो तथा डौंडे पनि पाइने हुँदा व्यवसायिक रुपमा जंगली फलफूल र जडिबुटीको खेती गर्न सकिने स्थानीय रामबहादुर बानियाँले बताउनुभयो ।
उहाँका अनुसार सौर प्रजातिका बोटविरुवाहरु धेरै भएका कारणले गर्दा यस ठाउँको नाम सौरबोट राखिएको हो ।
यो ठाउँ पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण रहेको गैरसरकारी संस्थ मिलन म्याग्दीका पूर्व अध्यक्ष एवम् स्थानीय बुद्धिजीवि शिव बानियाँले बताउनुभयो । तरेली परेका डाँडाकाँडा र लेकाली वस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगंगा नदीको बहाव देखिने सौरबोटबाट मौसम खुल्दाको समयमा बिहान सुर्योदयसँगै धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमालहरु छर्लङ्गै देखिन्छन् ।
हरियाली जङ्गल, वनपाखा, वनफुल, विभिन्न प्रजातिका बोटविरुवाको हरियालीमा सजिएको सौरबोटको प्रचारप्रसार गर्ने हो भने बेनी आएका पर्यटकहरु यस क्षेत्रमा आउने बलियो संभावना रहेको उहाँको भनाइ छ ।
स्थानीयवासी समेत रहनुभएका पत्रकार प्रताप बानियाँका अनुसार सौरबोटमा जडिबुटीतर्फ भकिम्लो, सतुवा, जटामसी, टिम्मुर, चिराईतो, सिल्टीम्युर, गुराँसलगायत पाइनुका साथै यहाँको वनजङ्गल क्षेत्रमा मृग, चितुवा, बाघ, कालीज, चिर, तित्रो, चाखुरा, काँडेभ्याकुर र ढुकुरसहित वन्यजन्तु जनावर तथा चराचुरुङ्गीहरु पाइन्छन् । विगतमा स्थानीयले खेती गर्न छाडेर अहिले बाँझो रहेको जग्गामा फलफुल, आलु, फापरलगायत लेकाली उत्पादनहरु लगाउन सकिने उहाँले बताउनुभयो ।
यहाँको जमिनमा गह्रा सुधार गरेर मकै, जौ, कोदो, कागुनोलगायत लेकाली उत्पादनहरुको पनि खेती गर्न सकिन्छ भने चिसो हावापानीका साथै हिमालको सम्मुखमा पर्ने भएकाले सौरबोटमा व्यावसायिक रुपमा स्याउ खेती समेत गर्न सकिन्छ । पर्याप्त जमिन भएको सौरबोट क्षेत्रलाई पर्या–पर्यटनको माध्यमबाट विकास गर्न सकिने उत्तिकै सम्भावना रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको दूरीमा पर्ने सौरबोटमा पिक्नीक स्पट बनाएर पनि रमाउन सकिन्छ । तत्कालीन बाईसे–चौबीसे राज्य रहेको बेला रानीले कपाल कोर्ने डिल समेत रहेको सौरबोट क्षेत्र मनोरम दृश्यावलोकनको उपयुक्त स्थलको रुपमा रहेको छ ।
कृषि उत्पादन, पर्यटन तथा आर्थिकलगायत क्षेत्रको सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच