भोजपुर । ऐतिहासिक तथा धार्मिक स्थलकारुपमा परिचित भोजपुरको उत्तरमा रहेको दिंला बजारमा बालाचर्तुदशी मेलाको तयारी सुरु गरिएको छ । षडानन्द नगरपालिको केन्द्र दिङ्लामा लाग्ने बालाचर्तुदशी मेलाको लागि भव्य तयारी थालिएको हो ।
आवाल ब्रम्हचारी षडानन्द अधिकारीबाट स्थापित धार्मिक सम्पदाहरु, बिद्यालय, गुठी भएको यस क्षेत्रमा प्रत्येक बर्ष बालाचर्तुदशी र रामनवमीमा मेला लाग्ने गर्दछ । यस बर्षको बाला चर्तुदशी मेलालाई बृहतरुपमा संचालनका लागि तयारी थालिएको षडानन्द नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक राज कुमार तामाङले बताउनुभयो । उहाँका अनुसार बालाचर्तुदशीको अवसरमा आगामी मंसिर २४ गतेबाट २७ गतेसम्म मेला संचालन हुनेछ ।
बालाचर्तुदशीमा मेलामा बिशेष गरेर यहाँ रहेका धार्मिक स्थलहरुमा सतविज छर्न आउने श्रद्धालु भक्तजनहरुको बढी सहभागिता हुने गरेको छ । जसका लागि दिंलामा रहेको ऐतिहासिक सीताराम मन्दिरमा धार्मिक कार्यक्रम पनि हुने संयोजक तामाङले बताउनुभयो । “बजारलाई हरेक दृष्टिबाट हेरिएको छ धर्म कर्मको लागि आउने श्रद्धालु भक्तजनहरुलाई मन्दिरमा धार्मिक कार्यक्रम राखिएको छ ।” अन्य बिभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि संचालन हुने छन् ।
बजार ब्यवस्थापनका लागि समेत स्टलको ब्यवस्थापन गरिने आयोजकले जनाएको छ । ऐतिहासिकरुपमा लाग्ने मेलालाई ब्यवस्थापन गर्दे ख्याती प्राप्त कलाकारहरुको समेत सहभागितामा सांस्कृतिक कार्यक्रम संचालनको तयारी गरिएको छ । जसका लागि नगरपालिका सामाजिक विकास शाखाको तर्फबाट बजेट विनियोजन गरेर कार्यक्रमको तयारी भईरहेको छ ।
मेलामा धार्मिक सहित हरेक क्षेत्रको प्रतिनिधीत्व हुने भएकाले मनोरञ्जन पूर्ण खेल र सांस्कृतिक प्रस्तुतीहरु समेत हुने गरी तयारी थालिएको नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक मन्दिप रसाईलीले बताउनुभयो ।
मेलाका लागि नगरपालिकाको तर्फबाट समेत आवश्यक तयारीहरु सुरु गरिएको छ, नगरपालिका प्रमुख सुरेन्द्र उदासले भन्नुभयो । उहाँले सवै क्षेत्रको समन्वयमा मेला ब्यवस्थापन र ब्यवस्थित गरिने बताउनुभयो ।






