कुरुङ्दी पाखो केराको वनमा परिणत : केरामा रोगको प्रकोप देखिएसँगै किसान चिन्तित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । शिरानमा घना जंगल । पुछारतर्फ बुट्यान सहितको उर्वर फाँट र नागबेली परेर बगेको म्याग्दी नदी । जंगलकै विचमा २२ रोपनी क्षेत्रफलमा गरिएको केराखेती । पारीपट्टीको डम्मरा गाउँबाट हेर्दा केराकै जंगलजस्तो देखिने बगरफाँटको कुरुङ्दी क्षेत्रमा विस्तार भएको केराखेतीले बन नै ढाकिएको छ ।

सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर पश्चिममा पर्ने बगरफाँट गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् । बगरफाँटका २० घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट वार्षिक रु ६० लाख आम्दानी गर्दै आएका छन् ।
व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेको बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताउनुभयो । यहाँका किसानले धान फल्ने खेत र घाँस काट्ने खोरिया फाँडेर विगत ६ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।

“बजारमा ‘बगरफाँटको केरा’ को ब्राण्ड नै बनेको छ । मैलै ५ वर्षदेखि केरा खेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्”, कृषक कार्कीले भन्नुभयो । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको अर्का कृषक टेकबहादुर कार्कीले बताउनुभयो ।

यहाँका बीस घरधुरीले व्यावसायिकरुपमा हजारी जातको केराको खेती गरेका छन् । परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारी र पोखो जमिनमा व्यावसायिक केरा खेती गर्न थालेपछि बगरफाँटवासीको आर्थिक अवस्थामा निकै सुधार आएको स्थानीय नरबहादुर कार्कीले बताउनुभयो ।
थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

“धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”, स्थानीय वेदप्रसाद उपाध्यायले भन्नुभयो “पाँच रोपनीमा केरा खेती गरेका छौँ । वार्षिक रु एक लाखसम्म आम्दानी हुन्छ ।”

“केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन रु एक सय २० मा बिक्री हुन्छ” कृषक कार्कीले भन्नुभयो । “राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्”, उहाँले भन्नुभयो “एक घारीको रु चार हजार दुईसयसम्ममा बिक्री गरेको छु ।”
यहाँका किसानले धान फल्ने खेतमा समेत केरा खेती गरेका छन् । धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् ।

ADVERTISEMENT

अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन् । केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको स्थानीय खिमबहादुर सापकोटाले बताउनुभयो ।

अर्का किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केरा खेती गर्नुभएको छ । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उहाँले बताउनुभयो ।

केरामा देखियो रोगको प्रकोप

विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् ।
केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ ।

सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका कृषक कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित हुनुहुन्छ । उहाँले करिब आठ रोपनी खेतमा केराखेती गर्नुभएको छ ।

बगरफाँटका कृषक वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको बताउनुभयो ।सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु-याएको उहाँको भनाइ छ ।
आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गर्नुभएका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताउनुभयो । हजारी जातको केरा खेतीबाट वार्षिक रु दुई लाख आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उहाँको भनाइ छ ।

“झ्याङ भएको केरामा किरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ”, उहाँले भन्नुभयो । उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको कृषकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज