कालीकोट । कालीकोटको सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकाबाट जातीय छुवाछूत तथा भेदभावको अन्त्य गर्ने यहाँका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । जातीय छुवाछूत तथा लैंगिक भेदभाव सम्बन्धि जनप्रतिनिधि, दलित महिला, युवाहरूसँग पालिका स्तरीय कार्यशाला गोष्ठीमा सहभागि जनप्रतिनिधि तथा सरोकावालाहरूले समाजको विकृतिको रुपमा रहेको जातीय छुवाछूतको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।
युरोपियन युनियनको आर्थिक सहयोग, प्लान इन्टरनेश्नल नेपाल, फेडो नेपालको साझेदारी र मानव अधिकार तथा विकास सञ्चार केन्द्र, हुर्डेकको आयोजनामा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दँ खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेशबहादुर शाहीले अहिलेको अवस्थामा पनि गाउँघरमा देवि देवताका मन्दिरमा जातीय छुवाछूत कायम रहेकाले यसको अन्त्य गर्न नगरपािलकाले योजना बनाएर अन्त्यका लागि पहल गर्ने बताउनुभयो । उहाँले नगरपािलकालाई जातीय छुवाछूत मुक्त बनाउनका लागि वनाइएका सूचक पुरा गर्ने अभियानमा लाग्ने र यसका लागि सबै क्षेत्रको आवश्यकता रहेको औंल्याउनुभयो ।
३७ जना महिला र १४ जना पुरुष सहभागि रहेको कार्यक्रममा वडा नम्वर-३ का वडा अध्यक्ष ददीराम पाण्डे, वडा नम्बर-६ का वडा अध्यक्ष दिनेश शाही, ११ का वडा अध्यक्ष देवराज भारती लगायतका वडाध्यक्षहरूले प्रत्येक वडाहरूलाई जातीय छुवाछूतमुक्त वडा बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
गोष्ठीमा सहभागी दलित अधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरुले धार्मिक स्थल, तथा भोज भतेरमा समेत अहिलेसम्म जातीय छुवाछूत तथा भेदभाव कायमै रहेकाले यसको अन्त्यका लागि स्थानीय सरकार सक्रिय हुनुपर्ने धारणा राखेका थिए ।
हुर्डेकका कार्यवाह अध्यक्ष कल्पना सेजुवालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सहजकर्ता कालीबहादुर मल्लले दलित समुदायको ऐतिहासिक पृष्ठभूमि, नेपालको आन्दोलनबाट प्राप्त दलित समुदायले उपभोग गरिरहेका उपलब्धीहरू, नेपालको संविधानमा जातीय छुवाछूत तथा जातीय भेदभाव बिरुद्धको हक, जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८, छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन २०७५ का मानवअधिकारको बिश्वव्यापी घोषणापत्र १९४८ बारेमा सहभागिलाई जानकारी गराउनुभएको थिो । नेपालमा छुवाछूत मुक्त राष्ट्र २०६३ जेष्ठ २१ गते घोषणा गरिए पनि अहिलेसम्म समाजमा जातीय विभेद कायमै रहेको पाइन्छ ।






