गौरिया, गुडुरालगायत सात थरी स्थानीय जातको धानको उत्पादन बढ्यो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका २ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्त्र्याउनुभयो ।
सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षको भन्दा दुई मुरी बढी गौरिया धान थन्क्याउनुभयो ।
पौडेल र सेन मात्रै होइन स्थानीय जातको धान खेती गरेका म्याग्दीका धेरै किसानहरु यस वर्ष धान उत्पादन बृद्धि भएकोमा खुसी छन् । यहाँका किसानहरुले लगाएको गौरिया, गुडुरा, आँगा, ताकुमारे, जौधान लगायतका सात थरी रैथाने धानको उत्पादन बृद्धि भएको किसानहरुको भनाइरहेको छ ।

रैथाने बाली लगाउँदा मेहनत र लागतअनुसारको उत्पादन नभएपछि म्याग्दीका किसानहरूले बजारबाट उन्नत जातको धानको बीउ किनेर लगाउँदै आउने गरेकोमा पछिल्ला तीन वर्षयता स्थानीय जातको धान बालीमा यहाँका किसानको आकर्षण बढेको हो ।
हाइब्रिड (उन्नत) जातको बीउको प्रयोग बढ्दै गएपछि स्थानीय तहले रैथाने बाली संरक्षण र प्रवद्र्धनमा किसानलाई प्रोत्साहित गर्न थालेपछि किसानहरुको आकर्षण बढेको मंगला गाउँपालिका ५ छिसवाङका टेकबहादुर पुनले बताउनुभयो ।

यहाँका किसानहरुले फाँटैभरी गौरिया, गुडुरा, आँगा, ताकुमारे, जौधान लगायतका रैथाने धान खेती गरेका थिए ।
म्याग्दीका अधिकांश किसानले उन्नत जातको बीउ प्रयोग गर्न थालेपछि स्थानीय जातका बालीहरू लोप हुँदै गएका थिए । “गाउँघरमा पहिलेदेखि नै लगाउँदै आएका बाली लोप हुँदै जान थालेपछि यी वालीहरुको पनि संरक्षण गर्नुपर्छ भन्ने लागेर २० मुरे फाँटमा गौरिया र जेठोबुढो धान रोपेका थियौं,” छिरबाङका अर्का कृषक दमन पुनले बताउनुभयो ।

उत्पादन थोरै भए पनि पोषिलो र स्वादिष्ट हुने,धान र चामल महङ्गो मूल्यमा विक्री हुने, पराल पर्ने भएकाले तीन वर्षदेखि स्थानीय जातको धानको बीउ प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । उन्नत बालीलाई जग्गा धेरै नचाहिने, थोरै जग्गामा खेती गरे पनि धेरै उत्पादन हुने, रैथाने बाली पाँच÷सात मुरी फल्ने जग्गामा उन्नत बाली ३०÷३५ मुरी फल्ने हुँदा जिल्लाका धेरै किसानहरु भने स्थानीय जातको धान कम र उन्नत जातको धान बढी लगाउने गर्दछन् ।

महँगो मूल्यमा हाइब्रिड जातको बीउ खरिद गरेर खेती गर्ने बढेका छन् । अहिले जिल्लामा उन्नत जातका नयाँ नयाँ प्रजाति धानको बीउ आउन थालेपछि रैथाने जातका धान कम देखिन थालेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोपसमेत बढेको किसानको भनाइ छ । हाइब्रिड धानको अतिक्रमणमा परेपछि रैथाने बाली लोप हुँदै मंगला गाउँपालिका २ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो ।

ADVERTISEMENT

बजारमा उन्नत जातका धानका बीउ आउन थालेपछि रैथाने बीउ किसानले बिस्तारै लगाउन छाड्दै जाँदा अहिले लोप हुन पुगेको उहाँको भनाइ छ । रैथाने बाली संरक्षण हुनुपर्छ भनेर कतिपय किसानले सम्बन्धित निकायमा माग पनि गरेका छन् । धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ । उत्पादनमा कमी, जनसङ्ख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा किसान छन् । रैथाने धानका लागि गाई भैँसीको मल प्रयोग गर्ने र नयाँ जातको धान युरिया मलको भरमा उत्पादन हुने गरेको कृषक स्वयम् बताउँछन् ।
उन्नतको तुलनामा रैथाने बाली स्वास्थ्यका लागि धेरै राम्रो मानिए पनि त्यसको खेती गर्नै छाडिएको छ । रैथाने बालीमा प्रोटिन, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम पाइने भएकाले पनि स्वास्थ्यका लागि सेवन गर्नु राम्रो मानिन्छ ।

धान मात्रै होइन म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउ बिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुने क्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका मंगला गाउँपालिका वडा नं ५ का वडा सदस्य भुमिसरा बूढाथोकीले बताउनुभयो ।

करिब एक दशकअघि देखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूल लगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधान लगायतका धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
आयातित बीउ बिजनको प्रयोग गर्ने क्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काक्रा, घिरौँलालगायतका बीउ टाँस्न छोडेका छन् भने धान, गहुँ, मकै लगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् ।

म्याग्दीमा दुई हजार सा सय ५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गौरीया,गुडुरा जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?