गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आफ्ना नागरिकहरुको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्ने भएको छ । नागरिकको निःशुल्क शल्यक्रिया गर्नका लागि नेपाल नेत्र ज्योति संघ गुल्मी, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र बीच सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
सम्झौतासँगै रुरुक्षेत्रका नागरिकहरुले आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्दा कुनै शुल्क तिर्नुपर्ने छैन । शल्यक्रियाको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने सम्झौतमा उल्लेख गरिएको छ । सम्झौता पत्रमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका कार्यालय प्रमुख सूर्य बहादुर बस्नेतले हस्ताक्षर गर्नुभयो ।
नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि गाउँपालिकाका नागरिकहरुलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । स्वास्थ्यमा ख्याल गर्दै शरीरको अत्यन्त संवेदनशील अंग आँखाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गर्न नेत्र ज्योति संघ सम्झौता समेत गरिएको उहाँले बताउनुभयो ।
नागरिकले उक्त सुविधाको लागि आफ्नो नागरिकताको फोटोकपी लिएर आँखा उपचार केन्द्र तम्घासमा आउनुपर्नेछ । पछिल्लो समय स्थानीय सरकार आफ्ना नागरिकहरुप्रति थप जिम्मेवार हुँदै गएकोप्रति नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेले खुसी व्यक्त गर्नुभयो ।
सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डे, निर्वतमान अध्यक्ष शेर बहादुर थापा, सचिव पदमप्रसाद पाण्डे, ज्योति संघका वीर बहादुर कार्कीको उपस्थिती रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts