म्याग्दी । म्याग्दीमा पछिल्लो समय बाख्रापालन व्यवसाय संकटमा पर्दै जानथालेको छ । केहीवर्ष अघिसम्म आकर्षक मानिएको यो व्यवसाय पछिल्लो समय खसीबोका विक्री हुन छोडेपछि संकटमा पर्दै जान थालेको हो ।
जिल्लामा बोयर जातको बाख्रापालनमा अगुवा कृषक धनबहादुर श्रीषले डेढबर्ष अगाडीसम्म रु दुईलाखसम्म बिक्रीहुने गरेका बोयर जातका बोकालाई अहिले रु ८० हजारमा विक्री गर्न पनि समस्या भएको बताउनुभयो ।
म्याग्दी जिल्लाका अगुवा बाख्रापालक कृषक श्रीषले स्थानीय तथा सरकारी निकायको गलत नीति र कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई प्राथमिकता नदिँदा बाख्रापालक कृषक धमाधम पलायन हुन थालेको भन्दै मुल्य घटाएर भएपनि विक्रीगर्न बाध्य भएको बताउनुभयो । बेनी नगरपालिका-३, भकिम्लीका श्रीषले यही अवस्था निरन्तर कायम रहे, बाख्रापालक कृषकको खोर रित्तो हुने बताउनुभयो ।
एक वर्ष अघिसम्म श्रीसको फार्मबाट वार्षिक करिब रु २५ लाख बराबरको बोयर बाख्राबिक्रीहुने गरेका थिए । बोयर बाख्राको मूल्य राम्रो पाएपछि अहिले बोयरको उत्पादन बढाइएकामा अहिले भने यसको आकर्षण घटेका कारण आम्दानीमागिरावट आएको उहाँको गुनासो छ ।
“दुई वर्ष अघिसम्म बोयर बोका र पाठीलाई दुई लाखसम्म पर्थ्याे, मैले मेरै फार्मबाट वर्षमा ६० लाखसम्मको कारोबार गरेको थिएँ तर अहिले मूल्य घटेको छ, रोज्जा बोयरलाई ८० हजारमै दिन्छु”,श्रीसले भन्नुभयो । श्रीसको फार्ममा अहिले ३५ वटा बाख्रा छन् । ती मध्ये पाठा जन्माउने १५ वटा माउ बाख्रा छन् । अन्य साना पाठापाठी छन् । फार्मका २० वटा बोयर बाख्रा म्याग्दी र बाहिरी जिल्लाका कृषकलाई पाल्नदिएका छन् ।
अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा रहेका उहाँले बताउनुभयो । बाख्राको घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीसले तीनजनालाई नियमित रोजगार दिनु भएकाे छ । व्यवस्थितरुपमा दुईवटा खोर बनाएर बोयर बाख्रापालनको स्रोत केन्द्र नै स्थापना गर्नुभएका उहँको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक आउने गरेका छन् ।
करिब १२ बर्षअगाडी वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका श्रीषले आफ्नो परिचय फेरिए पनि बाख्रापालक कृषकलाई अनुदान र प्रोत्साहनका कार्यक्रमहरुमा भने सरकारी निकायको सोचमा कुनै परिवर्तन नआएको गुनासो गरे । ‘बाख्रापालक कृषकको संख्या ह्वात्तै घट्दा समेत सरोकारवाला निकायले कानमा तेल हालेर बसेको छ,‘अब बाख्रापालकहरुले बैकल्पिक ब्यवसायको खोजी गर्नु अगाडी नै नयाँलाई प्रोत्साहन र पूरानालाई टिकाइ राख्नुपर्छ’ श्रीषले भन्नुभयाे । खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिक रुपमा सबल नबनेपछि गाउँ फर्किएर विसं २०६८ मा जग्गा धितो राखी ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले अहिले स्वरोजगार बन्नाका साथै अन्य व्यक्तिलाई समेत रोजगार बनाएका छन् । श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषिफार्म स्थापना गरेका उहाँले बोयर जातका पाठापाठी उत्पादन गरेर देशका विभिन्न भागमा बिक्री गर्दै आउनुभएकाे छ ।
विदेशबाट कामगर्दा ठेला उठेको रित्तो हात र उल्टो सातलाख रूपैयाँ ऋण बोकेर घर फर्किएका श्रीषलाई अहिले लगानीको समस्या छैन । विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न गरेको घरमै गरेको बाख्रापालन अहिले पैसा आउने मूल जस्तै बनेको छ। उनीसँगै छोराछोरीले समेत कमाइ गर्न थालेपछि फार्मको आम्दानीले थप विस्तारमा सहज भएको छ । एउटा छोरा भारतीय सेनामा छन् । श्रीषले बीउका रूपमा बोएर जातको बाख्रापालेकाले बोएरको स्रोत केन्द्र समेत बनाएका छन् । अहिले उनीसँग करिब १ करोडको हाराहारीमा संरचनासहित बोयर बाख्रा छन् । विदेशबाट रित्तै फर्किएका श्रीषले बाख्रापालनबाट प्रसस्तै कमाएका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts