काठमाडौं । साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा)को निधन भएको छ । घिमिरेको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । उहाँको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
विसं २००० साउन १५ गते जन्मिनुभएका उहाँका ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य शाह’, ‘चित्कार’, ‘सेरोफेरो’ जस्ता उपन्यास प्रकाशित छन् ।
यसैगरी ‘यथार्थ’ कवितासंग्रह, ‘विद्यालय लेखा प्रणाली’, ‘पृथ्वीनारायण शाह’ धारावाहिक प्रकाशन, ‘बिपी स्मृति ग्रन्थ’ सम्पादन-२०४८, ‘अरनिको’ लामो कथा, ‘हिन्दू संस्कृतिका वैज्ञानिक पक्ष’, ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, ‘लोकतन्त्रअघिको महाभारत’, ‘नेपालको पहिलो कोतपर्व’, ‘नीतिका कुरा’ कवितासंग्रह सहलेखन, ‘बुद्ध’, ‘लमजुङे बाघ’, ‘कोशेली’, ‘छ्यासमिस’, ‘गंगालाल’, ‘नखाएको विष’ एवं ‘धुम्वाफेवा र भृकुटी’ नाटक, ‘पौराणिक छन्दविधान’, ‘सूर्यकमल दन्त्यकथामा आधारित’ कृतिसहित विभिन्न पत्रपत्रिकामा लेख, रचना प्रकाशित छन् ।
उहाँले विश्व हिन्दू महासंघ राष्ट्रिय समितिको उपसभापति भएरसमेत काम गर्नुभएको थियो । साथै प्रजातन्त्र पुनस्र्थापनाका लागि सक्रिय हुनुहुन्थ्यो । उहाँका नाममा आशा प्रज्ञान केन्द्र विसं २०७९ स्थापना भएको थियो । नागार्जुन नगरपालिकाको सहयोगमा गत वर्ष केन्द्रले घिमिरेको सम्मानका लागि स्मृतिग्रन्थ प्रकाशन गरेको थियो ।
केन्द्रले नागार्जुन नगरपालिकामा बसोबास गरी विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका २२ जनालाई सम्मान पनि गरेको अध्यक्षसमेत रहनुभएकी उहाँकी छोरी उमा घिमिरेले जानकारी गराउनुभयो । केन्द्रले प्रत्येक वर्ष उहाँले लेख्नुभएकामध्ये एउटा कृति प्रकाशन गरिने जनाएको छ । केन्द्रको हाल नेपाल, भारतका सिक्किम, आसाम र मणिपुर, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशमा शाखा छन् ।
स्व. घिमिरेका श्रीमती र तीन छोरी हुनुहुन्छ । उहाँका एक छोरा ३५ वर्षदेखि बेपत्ता हुनुभएकोमा अझै कुनै खोजखबर प्राप्त भएको छैन । ८० वर्षको उमेरमा निधन हुनुभएका घिमिरे विगत तीन वर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts