म्याग्दीमा टिम्मुर खेती विस्तार : वार्षिक तीन हजार केजी उत्पादन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीमा टिम्मुर खेती व्यवसायिक वन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानहरुले टिम्मुर खेती गर्न थालेका छन् ।

जिल्लाका बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली,वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेत लगाएत मालिका,मंगला र अन्नपूर्ण गाउँपालिकामा व्यवसायिकरुपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गरिएको छ । एक दशक अघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्याधिक माग हुन थालेपछि यहाँका कृषकहरु टिम्मुर खेतीमा आकर्षित भएका वन डिभिजन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो । उहाँका अनुसार म्याग्दीका किसानहरूले एकल तथा सामूहिक रुपमा हरेक वर्ष टिम्मुर खेती विस्तार गरिरहेका छन् ।

सहायक वन अधिकृत एवम् टिम्मुर विज्ञ सापकोटाले बेनी नगरपालिका, मङ्गला, मालिका, धौलागिरि गाउँपालिकामा टिम्मुर खेती विस्तार भएको छ । टिम्मुर कृषकलाई उपयोगी हुने पुस्तक समेत बजारमा ल्याउनुभएका सापकोटाले जिल्लामा वार्षिक करीब ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको बताउनुभयो । आधुनिक औजारको प्रयोगले उत्पादन बढ्नुका साथै समय पनि व्यवस्थापन भएको उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालयका अनुसार म्याग्दीमा २० वटा समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको छ । सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर विक्री गर्ने गरेका छन । करीब १ सय ५० घरधुरीले टिम्मुर खेती गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा धेरै टिम्मुर उत्पादन हुने गाउँको रुपमा चिनिएको तोरिपानीका कृषकहरु यतिबेला टिम्मुर टिपेर सुकाउन व्यस्त छन् । असोज र कात्तिक महीनामा टिम्मुरको फल टिप्ने गरिन्छ ।
म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी मूल्यमा बार्गेनिङ गर्न गाउँमै पुग्ने गरेका बेनी नगरपालिका ३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताउनुभयो ।
कृषक घर्तीका अनुसार गाउँबाट नै टिम्मुर प्रतिकिलो रु एकहजार ६ सयदेखि रु दुई हजार सम्ममा विक्री हुने गरेको छ ।उहाँले नर्सरी स्थापना गरेर टिम्मुरका विरुवाहरु उमारी विक्री समेत गर्दै आउनुभएको छ ।

ADVERTISEMENT

डिभिजन वन कार्यालय, म्याग्दी, उद्योग वाणिज्य सङ्घ लगाएतका संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट २५ रुपैयाँमा प्रति विरूवा विक्री हुने गरेको उहाँले बताउनुभयो ।

टिम्मुर खेतीलाई प्रोत्साहन गर्न म्याग्दी उद्योग वाणिज्य सङ्घले समेत विभिन्न किसिमका औजार सहित तालिम समेत सहयोग गर्ने गरेको छ । सङ्घले एक गाउँ एक उत्पादन अन्तरगत तोरीपानी सहित विभिन्न गाउँमा १९ हजार ५ सय विरुवा सहित प्राविधिक सहयोग गरेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

म्याग्दीको तोरीपानी गाउँबाट वार्षिक ६ हजारको हाराहारीमा विरूवा समेत जिल्ला बाहिर विक्री हुने गरेको छ । एक कृषकले ६ केजीदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् ।

यसैबीच जिल्लामा पहिलोपटक कृषकले टिम्मुरको प्रशोधन गर्ने औजार समेत ल्याएका छन् । तोरिपानीका निलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजारको प्रयोग गर्न वन कार्यालयको रू. १० लाख अनुदानमा औजार खरीद गरेको छ । प्रशोधन औजारको प्रयोगसँगै गाउँमै मसला बनाई बजारमा विक्री गर्न, मिसावट रोक्न, गाउँकै ब्राण्डलाई स्थापित गर्न, धेरै मूल्य पार्न सहज भएको कृषक समूहले बताएको छ । म्याग्दीमा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज