धादिङ । लामो समय सम्म सडक सञ्जाल पुग्न नसकेको उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ र २ मा स्थित तिप्लिङमा मोटर बाटो पुगेको छ ।
धादिङ जिल्लाको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटो पुगेको हो । चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक अहिले तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी हर्षित भएका छन् ।
सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार मात्र होइन त्यहाँका हरेक गतिविधि समेत फेरिएने आकलन गरिएको छ । रुविभ्यालीको सबैभन्दा अग्लो स्थान तीन हजार आठ सय ५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वारसम्म अहिले सडक सुविधा पुगेको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले बताउनुभयो । विकट बस्ती लब्दुङबाट पुरुसम्म मोटर पुगिसकेको छ भने लापासम्म पुग्ने सडक भने खन्ने प्रयास भइरहेको अध्यक्ष तामाङको भनाई छ । सडक पुगे लगत्तै धादिङको सदरमुकाम धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ । तीन हजार आठ सय ५० मिटर उचाइमा खनिएको यो सडक जिल्लाकै सबैभन्दा उच्च स्थानमा खनिएको पहिलो सडक हो । धादिङ र रसुवाको सिमाना सोम्दाङबाट तिप्लिङसम्म २८ किलोमिटर सडक विभाग, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।
सदरमुकाम धादिङबेँसीबाट ७० किलोमिटर सडक भने नेपाल सरकारको लगानीमा खनिएको रुविभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिनुभयो । सडक पुगेपछि आवतजावतमा त सहज भएको छ नै विकास निर्माणका कामका लागि निर्माण सामग्री ढुवानीमा समेत सजिलो भएको तामाङले बताउनुभयो ।
मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिँडेर धादिङसम्म आउनुपर्ने बाध्यता रहेकामा अब भने सो बाध्यता हट्ने र एकै दिनमा धादिङको सदरमुकाम आइपुग्न सकिनेछ ।






