विराटनगर । पटक पटकको मुख्यमन्त्री परिवर्तन भोगेको कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारपछि फेरि तरंग सृजना हुने देखिएको छ । आफूलाई समर्थन गरेको एमालेको असमतिकै बाबजुद मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गरेपछि कोशीमा फेरि तरंग उत्पन्न भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्त गर्नुभएका दुई मन्त्रीले शपथ लिनुभएको छ ।
शुक्रबार मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिनुभएको हो ।
नेपाली कांग्रेस विद्रोह समूहबाट मुख्यमन्त्री बन्नुभएको कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाउनु भएको थियो। कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।
तर अहिले एमालेको समर्थन विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनु भएको हो ।
एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बन्नुभएको कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।
एमालेका ३९ सांसदको समथएनमा मुख्यमन्त्री नियुक्त भएलगत्तै केन्द्र गठबन्धनले केदार नै साझा उम्मेद्वारर भएको बताएको थियो ।
मुख्यमन्त्रीमा कार्कीलाई गठबन्धनका कांग्रेससँगै माओवादी, एकीकृत र जसपाले कार्कीलाई विश्वासको मत दिएका थिए । केन्द्रीय गठबन्धनको दबाबका कारण मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।
एमालेले मुख्यमन्त्रीसँगको पछिल्लो छलफलमा गठबन्धनका अरु दललाई सरकारमा ल्याए पनि माओवादीलाई भने ल्याउनै नहुने अडान राखेको थियो। केन्द्रको गठबन्धन प्रदेशमा लागु भए आफू सरकारमा नबस्ने एमालेले चेतावनी दिँदै आएको छ।






