काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच कृषि क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कृषिमन्त्री डा. वेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामीण सुरक्षामन्त्री चुङ्ग हवानकेउनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार नेपालको कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा दक्षिण कोरिया सरकारले सहयोग गर्नेछ ।
सो अवसरमा दक्षिण कोरियाका कृषिमन्त्री हवानकेउनले सहकार्यसँगै नेपालमा दुग्ध उत्पादन वृद्धि र कृषि उपजमा सहयोग पुग्ने बताउनुभयो । समझदारीअनुसार नेपालको दुग्ध उत्पादन वृद्धि, धान उत्पादन र तरकारी तथा मसलाजन्य बाली विकासमा कोरियाले सघाउनेछ । दुर्ई देशका कृषि विश्वविद्यालयको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्य अघि बढाउन सकिनेछ । कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विशेष गरी संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, व्यवसायलगायतका क्षेत्रमा थप कार्य गर्न सकिनेछ ।
त्यस्तै कृषि पूर्वाधारका विकास तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य, कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संसाधन, युवा कृषक तथा निजी क्षेत्रमा कृषि उद्यमीको क्षमता अभिवृद्धि, नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकका लागि सिक्ने र कमाउने अवसरका लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ ।
मन्त्री भुसालले समझदारी दुर्ई देशबीचको सम्बन्धमा कोसेढुंगा हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) र कोरियाको कृषि अनुसन्धान परिषद्बीचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धान कार्य अघि बढाउने अवसर सिर्जना हुने उहाँको भनाइ थियो । विगत ३० वर्षमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले एक सय ५७ विकास परियोजना कार्यान्वयन गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता