म्याग्दी । उमेरले ८५ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाएर बस्नुभयो । पोखरामा बसोबास गर्ने छोरा बुहारी दसैं पछि पोखरा हिंडेपछि अहिले उहाँ घरमा एक्ले हुनुहुन्छ ।
श्रीमतीको मृत्यु पछि एकांकी जीवन बाँच्दै आउनुभएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कुराको कमी छैन । पोखरामा बस्ने छोरा बुहारीले उहाँलाई कुनै कुराको कमी हुन दिएका छैनन् । एउटै मात्र कमी भनेको आफ्ना सन्तान आफूसँग नहुनुको पीडा हो । उसो त छोरा बुहारीले उहाँलाई आफूसँगै पोखरामा नै बस्न निकै कर गर्दछन् तर उहाँ आफ्नो थाँतथलो छोडेर पोखरा बस्न मान्नुहुन्न ।
त्यस्तै अवस्था छ सोही गाउँका ८६ वर्षिय खड्गबहादुर घिमिरे,८८ वर्षिय बेदप्रसाद उपाध्याय, ९९ वर्षिय खड्गबहादुर थापा र ७९ वर्षिय टेकबहादुर कार्कीको पनि । उहाँहरुका सन्तानहरु कोही वैदेशिक रोजगारीमा हुनुहुन्छ भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचि रहनुभएको छ ।
चार वर्ष अघि आफ्नो ३६ वर्षिय छोराको कोरोनाको कारण मृत्यु भएपछि ८८ वर्षिय बेदप्रसाद उपाध्याय एकोहोरिनुभएको छ । बेनी बजारमा व्यापार व्यवसाय गरेर बस्ने छोराको अचानक मृत्यु भयो । माइलो छोरा पाँच वर्षदेखि सम्पर्क विहीन छन् । वैदेशिक रोजगारीका लागि पाँच वर्ष अघि युएईमा गएका विदुर उपाध्यायले न फोन गर्छन् न घरमा नै आउँछन् । उनका एक श्रीमती र छोरा छन् । श्रीमती माइतीमा बसेकी छन् ।
माथीका यी प्रतिनिधि पात्रहरु मात्र हुन् । म्याग्दीका प्रत्येक गाउँ अहिले बृद्धबृद्धाहरुको काल पर्खने र दिन कटाउने ठाउँ बनेका छन् । गाउँहरु वृद्ध आश्रममा परिणत हुँदै जान थालेका मालिका गाउँपालिका वडा नं ६ का टेकबहादुर सिउथानी मगरले बताउनुभयो ।
दसैं मनाउनका लागि विदेश र सहरबाट गाउँमा आएका युवाहरु आआफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर सुनसान हुन थालेको सिउथानीले बताउनुभयो ।
बृद्धबृद्धा गाउँ कुरुवा
पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ छिसबाङमा २६ घर परिवारको वसोवास रहेको छ । ती २६ घरमा एक सय नौ जना मानिसहरु छन् । ती मध्ये युवाको संख्या ११ छ भने अरु सबै बृद्धबृद्धा र विद्यालय उमेरका बालबालिकाहरु छन् ।
बेनी नगरपालिका वडा नं २ बगरफाँटमा एक सय ६९ घर छन् । सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधारहरु र अवसरहरुको कुनै कमी छैन । यहाँ व्यापार व्यवसायदेखि कृषि,पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावनाहरु रहेका छन् ।
तर यहाँका अनेकौं सम्भावनाहरुप्रति स्थानीय युवाहरुको कुनै रुची छैन । यहाँका युवाहरु अमेरिका,अष्ट्रेलिया,जापान,क्यानडा लगाएतका मुलुकमा पुगेका छन् । त्यसैगरी वैदेशिक रोजगारीका लागि साउदी अरब,कतार,युएई लगाएतका मुलुकमा पनि प्रशस्तै युवाहरु छन् । रहेबचेका युवाहरु कोही सहरतिर छन् । दसैं मनाउन जापानबाट पाँच जना युवाहरु गाउँ आउँदा गाउँको रौनक नै बेग्लै भएको स्थानीय सुनिल थापाले बताउनुभयो ।
९ वर्ष जापान बसेर गाउँ फर्किनुभएका थापा अहिले गाउँमा नै व्यवसाय गरेर बस्नुभएको छ । थापा लगाएत १२ जना युवाहरु मात्रै अहिले गाउँमा छन् । ती मध्ये पनि सात जना युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तारतम्य मिलाउँदै गरेका उहाँले बताउनुभयो ।
गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका बृद्धबृद्धाहरुको संख्या दुईसय भन्दा बढी रहेको छ । महिला र विद्यालय उमेरका बालबालिकाहरु छन् । युवाहरुको संख्या अत्यन्तै न्यून रहेको ७४ वर्षिय टेकबहादुर कार्कीले बताउनुभयो ।
“गाउँ बृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु गाउँमा देखिदैनन्” कार्कीले भन्नुभयो “मर्दापर्दा,दुख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन् ।”
सहरको सुविधा गाउँमा,गाउँका युवा विदेशमा
२०६० सालमा तत्कालिन नेकपा माओवादीले म्याग्दीको सदरमुकाम बेनी आक्रमण गरेपछि म्याग्दीको भौतिक विकासमा पनि परिवर्तन आयो । त्यसअघि लाहुरेहरुको जिल्ला भनेर मात्र चिनिने म्याग्दीको परिचय पनि फराकिलो बन्दै गयो । विकासका पूर्वाधारहरु ठडिन थाले । सडक र संचारको विकासले शहरको सुविधा र अवसर गाँउ गाउँमा पुग्यो । तर यहाँका युवाहरु विदेशिने बहाना बन्यो ।
२०७८ सालमा गरिएको जनगणना अनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकोमा कुल जनसंख्या १ लाख ७ हजार ३३ रहेको छ । २०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार ७ सय ६२ रहेकोमा त्यतिबेला कुल जनसंख्या १ लाख १३ हजार ६ सय ४१ रहेको थियो । ०७८ सालको जनगणनाअनुसार परिवार संख्या बढेको भए पनि जनसंख्या भने घटेको छ ।
पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसंख्या ५२ हजार १ सय ५३ रहेको छ भने महिलाको ५४ हजार ८ सय ८० रहेको छ । यसैगरी परिवारको औषत आकार ३ दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको संख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।
जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्यातर्फ कुल परिवार संख्यामध्ये ८ हजार ३ सय २० रहेकोमा जनसंख्यामा भने १० हजार ७ सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ । यसमध्ये पुरुष ८ हजार ९ सय ६१ जना र महिला १८ सय ५ जना रहेकोमा कुल जनसंख्याको शुन्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क छ ।
अहिले गाउँमा कपाल सेताम्य फुलेका बुढा बाआमा मात्र भेटिन्छन् । कति लौरी टेक्दै खेतबारी र गोठमा काम गर्दै गरेका त कति रोगी शरिर लिएर घरको पेटी र आगँनमा हेरचाह गर्ने, स्याहार सुसार गर्ने छोराछोरीको हातको न्यानो स्पर्श पर्खिरहेका छन् । अधिकाशंको काठमाण्डौं, चितवन, पोखरा र बेनी बजारमा घर छ ।
पुराना मानिस उमेरले बुढ्यौली लागे पनि आँफु जन्मे हुर्केका थातथलो छोड्न कदापी तयार छैनन् । बरु उनीहरु सन्तान भविष्यका लागि आँफ्ना बुढेसकालका पीर व्यथा लुकाउन चाहन्छन् ।
गाउँहरु बृद्ध आश्रम जस्तै बन्दै गए पछि संस्कार,संस्कृति र परम्पराहरु पनि हराउँदै जान थालेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts