युवापुस्ताको आकर्षणसँगै पञ्चेबाजाको प्रयोग बढ्दै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । नेपाली मौलिक संस्कृतिको धरोहर पञ्चेबाजाप्रति युवाहरुको आकर्षण बढेसँगै म्याग्दीमा पञ्चेबाजाको प्रयोग पनि बढ्दै गएको छ ।

विवाह, ब्रतवन्ध जस्ता मांगलिक कार्यहरुमा मात्रै होइन स्वागत, समारोह वा जिल्लामा हुने प्रायः सबै कार्यक्रमहरुमा पञ्चेबाजाको प्रयोग हुन थालेपछि सांगीतिक माहोलमा कार्यक्रमहरु सम्पन्न हुन थालेका छन् ।

विसं २०५० देखि २०७० सालको दुई दशकको अवधिमा देशमा जारी द्वन्द्व, आधुनिकीकरणको प्रभाव र युवा पुस्ताको उदासिनताको कारण लोपोन्मुख अवस्थामा पुगेको पञ्चेबाजा २०७० सालपछिको एक दशकमा फेरि लोकप्रिय हुन थालेको म्याग्दीका लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा बिवाह, ब्रतबन्धका साथै विभिन्न महोत्सव, अतिथि सत्कार, सभा समारोहहरुमा पनि यसको प्रयोग बढ्दै गईरहेको अर्का पुराना लोकगायक नेत्रबहादुर महतले बताउनुभयो ।

“५०को दशक अघि निकै लोकप्रिय रहेको पञ्चेबाजा देशमा उत्पन्न भएको द्वन्द्व,आधुनिकीरणको प्रभाव, जनशक्ति र इच्छाशक्तिको अभाव जस्ता कारणले केही समय प्रयोग विहीन जस्तै बनेको थियो” लोकगायिका थापाले भन्नुभयो “तर,पछिल्लो समय यसको प्रयोग बढेको छ, युवा पुस्ता पनि पञ्चेबाजाप्रति आकर्षित छ, स्थानीय तहले पनि यसको प्रवर्द्धनका लागि आवश्यक सहयोगसहित प्रोत्साहन गर्न थालेको छ ।”

नेपाली लोक संस्कृतिको अभिन्न चिनारी मानिएको पञ्चेबाजा संरक्षण र सम्वर्द्धनमा स्थानीय तहको भूमिका पनि महत्वपूर्ण हुने बेनी नगरपालिका-२ का वडाअध्यक्ष यामबहादुर कार्की बताउनुहुन्छ । पञ्चेबाजाको सर्वाेपरी विकास र यसको मौलिक पक्षलाई जीवन्त राख्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

ADVERTISEMENT

वडादसैंको नवदुर्गा अवधीभरी ज्यामरुककोट स्थित ऐतिहासिक खड्गभवानी कोटमा स्थानीय पञ्चेवाजा समूहका कलाकारहरुले पञ्चेबाजा बजाएर दसैंलाई सांगीतिक उत्सवको रुपमा मनाए ।

त्यसैगरी गएको असोज २८ गते बेनी नगरपालिका ३ भकिम्लीमा विदेशमा रहेका भकिम्लीवासीको आर्थिक सहयोगमा निर्माण गरिएको २२ कोठे विद्यालय भवनको उद्घाटन कार्यक्रममा विदेशबाट गाउँ फर्किएका प्रवासीहरको स्वागतमा पञ्चेबाजासहित गरिएको स्वागतले गाउँ फर्किएका प्रवासीहरु प्रशन्न भए ।

यी केही उदाहरणहरु मात्रै हुन् । संस्कृति हराए देशको पहिचान मेटिने भन्दै यसलाई जोगाइराख्न म्याग्दीका स्थानीय तह र समुदाय जुर्मुराउन थालेका छन् । बेनी नगरपालिका-३ ले त पञ्चेबाजा संरक्षणका लागि बजेट नै विनियोजन गरेर प्रोत्साहित गरेको छ भने मालिका गाउँपालिकाले पनि हरेक वडामा पञ्चेबाजा संरक्षण र प्रवर्द्धनका लागि पोशाक,बाजा,भत्तालगाएतका आवश्यक सहयोग गर्दै आएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगरले बताउनुभयो ।

पाँच बाजाको समूहलाई पञ्चेबाजा भनिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन । पञ्चेबाजा, नेपाली धार्मिक एवं सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजालगायतमा बजाइने गरिन्छ ।

विशेषगरी पञ्चेबाजा नेपालको पहाडी भेगमा बजाउने गरिएपनि पछिल्लो समय यो बाजा शहरी क्षेत्रहरुमा पनि लोकप्रिय हुँदै गएको छ । पञ्चेबाजा दलित समुदायमा पनि विशेष गरी दमाई र परियार जातिको मौलिक बाजा भनिएता पनि अहिले बाहुनदेखि लिएर सबै जातजातिका मानिसहरुले वजाउने गरेको म्याग्दीका प्रशिद्ध सहनाइवादक रामबहादुर दर्जीले बताउनुभयो ।

अहिले पञ्चेबाजा नेपालमा मात्रै सीमित नरहेर भारतको सिक्किम तथा दार्जलिङ तथा अमेरिका,हङकङ,बेलायत,जापानलगाएतका देशमा बसोवास गर्ने नेपालीहरुले समेत बजाउन थालेका म्याग्दीका लोकगायक तथा संचारकर्मी अमित विकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज