
काठमाडौं । युरोपियन लिगहरू खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलु डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीले विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साबिक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रूपमा सेनेगलका डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो । यसअघि धनगढी एफसीले नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ ।
युरोपका विभिन्न चर्चित क्लबहरूबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नइ एफसीबाट भारतको पहिलो श्रेणीको लिग इण्डियन सुपर लिगसमेत खेल्नुभएको थियो । सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगलको राष्ट्रिय टिमका लागि डेब्यु गर्नुभएका डियाग्नेले ४ क्याप जित्नुभएको छ । उहाँले खेलेका खेलहरूमा सेनेगल अपराजित रहेको थियो ।
फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यावसायिक जीवन सुरु गर्नुभएका फलु डियाग्नेले जर्मन बुण्डेसलिगा क्लब फाइवर्गबाट युरोपा लिगसमेत खेलिसक्नुभएको छ । त्यस्तै उहाँले जर्मनकै अर्को प्रतिष्ठित क्लब वेडर ब्रमनबाट बुण्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग खेल्नुभएको थियो । उहाँसँग टर्किस र भारतीय फुटबलको पहिलो श्रेणीको समेत अनुभव रहेको छ । एनएसएल आबद्ध विदेशी खेलाडीमध्ये हालसम्म उहाँ प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडीसमेत हुनुहुन्छ ।
धनगढीसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘विदेशी खेलाडीका रूपमा धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुसी छु । पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु । अघिल्लो सिजन भारतमा खेलेको हुनाले नेपालको फुटबलका बारेमा थोरै भए पनि जानकार छु । आफ्ना तर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एक स्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ सम्झौतामा डियाग्नेले भन्नुभयो ।
धनगढी एफसीका अध्यक्ष सुवास शाहीले युरोपियन लिगको अनुभव भएका खेलाडीलाई नेपालमा भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै उहाँको अनुभवले नेपाली खेलाडीलाई समेत सिक्ने अवसर हुने बताउनुभयो । ‘धनगढी एफसीमा यस सिजन विदेशी खेलाडी फलु डियाग्नेलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौँ । ठूलो युरोपियन लिगको अनुभव भएका खेलाडी नेपाल आउँदा यसले नेपाली फुटबलको विकासमा टेवा पुग्ने विश्वास गरेको छु । धनगढी एफसीलाई गत सिजनमा तपार्इंहरू सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दछौँ । यस सिजनमा पनि यहाँहरूको अपार मायाको अपेक्षा राखेका छौँ,’ शाहीले भन्नुभयो ।
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान् मिडफिल्डर आशिष चौधरी रहनुभएको छ । आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडबाट खेल्दै टोलीलाई लिगको उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बू, निशान लिम्बू, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईलाई निरन्तरता दिएको छ । धनगढी एफसीको ब्राण्ड एमबासडरमा कलाकार तथा चर्चित टिकटकर पवी रहनुभएको छ । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज युनाइटेडसँग खेल्ने तालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच