कैलाली । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको बताउनु भएकाे छ ।
समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभामा बाेल्दै प्रधानमन्त्री दाहाल यस्ताे जिकिर गर्नुभएकाे हाे ।
उहाँले ललिता निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा दोषी कारवाहीको भागीदार भएको बताउनुभयो ।
प्रधामन्त्रीले भ्रष्टाचारका अरू पनि केही फायलहरू छिट्टै खुल्ने दावी समेत गर्नुभयो । देशलाई खोक्रो पार्ने शक्तिहरुलाई विस्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।
‘धेरै बोल्न मिल्दैन सुन काण्ड ललिता निवास जग्गा प्रकरण पछि अरु फाइल पनि छिट्टै खोल्छौं ।’ उहाँले भन्नुभयो ।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली एमाले नभएको आरोप समेत लगाउनु भयाे ।
ओली रियल एमाले नभएको टिप्पणी गर्दै उहाँले भन्नुभयाे‘अहिले जसले एमालेको नेतृत्व गर्दै हुनुहुन्छ उहाँ रियल एमाले नै होइन, माधव नेपाल त्यो वेला एमाले अध्यक्ष नभएको भए अहिले भएको एमाले एमाले रहने थिएन ।’
युद्धकालीन अवस्थाको स्मरण गर्दै उहाँले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए अहिलेको परिवर्तन सम्भव हुन नसक्ने प्रचण्डले बताउनुभयो । अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेकोमा प्रचण्डको बुझाइ छ ।
‘परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्छौं । त्यसको लागि हामी एक ठाउँमा आउनु पर्छ’, उहाँले भन्नुभयो, ‘संविधान मिचेर संसद् विघटन गर्ने र प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास भएकै थियो । हामीले नै त्यो षड्यन्त्रलाई परास्त गरेका थियौं अदालतले पनि जनताको कुरा सुनेर संसद् पुनर्स्थापना ग-यो । अहिले पनि त्यो कोसिस भइरहेको छ ।’
साथै इजरायलमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजी कार्य भइरहेको प्रधानमन्त्री दाहालले बताउनु भयो । बेपत्ता विपिनको खोजी कार्य तीब्र पारिएको उहाँले बताउनु भएको हो । प्रधानमन्त्रीले दाहालले इजरायल लगायत वरिपरिका देशमा पनि विपिनको खोजी भइरहेको बताउनुभयो ।
प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो। सोहि क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–३ का जोशी अहिलेसम्म बेपत्ता छन् । प्रधानमन्त्री दाहालले अहिले इजरायलमा मात्र नभइ हमास आबद्ध देशहरुमा पनि खोजी भइरहेको बताउनुभयो । ‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता