दरबाङ (म्याग्दी) । हिमाली जिल्ला म्याग्दीमा उत्पादन भएको कोदोको काग सहर बजारमा बढ्दै गए पछि यहाँका किसानहरु पछिल्लो समय कोदो खेतीतर्फ आकर्षित भएका छन् ।
कोदोका परिकारको विविधिकरण र बजारीकरणमा सुधार आएर कोदोको महत्व र उपयोगिता बढ्दै गएपछि गरिबले खाने अन्न भनेर परिभाषित गरिएको परम्परागत भाष्य पनि उल्टिैदै गएको छ ।
ग्रामीण क्षेत्रका पाखो जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । जसकारण बेनी,पोखरा,काठमाडौंलगायतका सहरी क्षेत्रमा कोदोको माग उल्लेखनिय छ । तर, उपयुक्त बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान वाध्य भएका हुन् ।
कोदो खेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग र बजारीकरणको प्रवन्ध मिलाउन थालेपछि कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको मालिका गाउँपालिका २ का कृषक रणबहादुर विकले बताउनुभयो ।
दुई वर्ष अघिसम्म प्रतिपाथी रु ६० मा पनि विक्री नहुने कोदो अहिले रु दुईसय प्रतिपाथी विक्री हुन थालेको किसान विकले जानकारी दिनुभयो । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि ठोस योजना नै बनाएर प्रोत्साहित गर्ने हो भने कोदो म्याग्दीका किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्ने पश्चिम म्याग्दीको दरबाङ बजारका व्यवसायी अमृत सापकोटाले बताउनुभयो ।
म्याग्दीका छ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । अहिलेसम्म व्यावसायीक रुपमा कोदो खेती गर्ने किसान छैनन् । खानका लागि मात्र उत्पादन गरिने गरेको छ ।
तर, उर्वर माटोका कारण थोरै बिउमा रोपिए पनि कोदो धेरै फल्छ । खाएर मात्रै सकिँदैन । किसानहरुले उत्पादन गरेको कोदो बजारसम्म पुर्याउने हो भने बजारमा खोसाखोस हुने गरेको र भनेको मूल्यमा नै विक्री हुने गरेको मालिका गाउँपालिका ६ की किसान देवी घर्तीले बताउनुभयो ।
थोरै लगानीमा बढी उत्पादन हुने भएपनि कोदोलाई पछिल्लो समय खाद्यान्न र मदिरा उत्पादनको रूपमा बढी प्रयोग गर्न थालिएको मंगला गाउँपालिका २ का कृष्ण सेनको भनाइ छ ।
“धेरै दुःख नगर्दा पनि मनग्गे कोदो फल्छ । खाएर सकिँदैन, खरिद गर्नका लागि गाउँमै ग्राहाक आउन थालेपछि विक्रीका लागि बजारसम्म पुर्याउने झन्झट पनि हटेको छ” सेनले भन्नुभयो“ । जहिल्यै खेर जान्थ्यो । विगद दुई वर्षयता कोदो जति उत्पादन गरे पनि खेर गएको छैन,विक्री गर्नका लागि बजारसम्म पुर्याउनुपर्ने झन्झट पनि हटेको छ ।”
सेनले घरमै आएका ग्राहकलाई यस वर्ष पाँच मुरी विक्री गरेको र चार मुरी वावियाचौर,सिंगा तातोपानी र बेनीमा लगेर विक्री गरेको बताउनुभयो । प्रतिपाथी रु दुईसयका दरले विक्री गरेर यस वर्ष रु ३६ हजार आम्दानी भएको उहाँले बताउनुभयो ।
आधुनिक बिउबिजनको विस्तारसँगै कतिपय ठाउँमा खाद्यान्नको सहज उपलब्धता बढेपछि कोदो खेती लोप हुँदै गएको भए पनि म्याग्दीमा भने पछिल्लो समय कोदो खेती गर्ने विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
मानव स्वास्थ्यका लागि बहुउपयोगी
कोदोमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । स्वास्थ्यका लागि बहुउपयोगी भएकाले सहरी क्षेत्रमा यसको माग बढेको हो । स्वास्थ्य विज्ञका अनुसार मधुमेहजस्ता रोगका विरामीहरुका लागि कोदो निकै हितकर हुन्छ ।
आयातित खाद्यान्नमा पोषक तत्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणलगायतका समस्या बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । मानव स्वास्थ्यका लागि अत्यावश्यक आइरन र विभिन्न भिटामिन कोदोमा पाइन्छ ।
विशेषतः आइरन चक्की खाने गर्भवती महिलाका लागि कोदोका परिकार उपयोगी मानिन्छ । सर्वसाधारणलाई कोदोका परिकार बनाउन अभिप्रेरित गरी उत्पादकत्वमा वृद्धिसँगै पर्यटन प्रवद्र्धनमा जोड दिन सकिने कृषि विज्ञहरुको भनाइ छ ।
कोदोबाट विभिन्न परिकार बनाएर त्यसको उचित प्रवद्र्धन गर्नसके पर्यटक आकर्षित गर्न सकिन्छ । गाउँघरमा हेपिएको खाद्यान्न कोदो अहिले सहर बजारतिर भने खोजीखोजी खान थालिएको छ ।






