पाल्पा । विगतका समयमा व्यक्तिगत तथा पारिवारिक चिठ्ठीले भरिभराउ हुने जिल्ला हुलाक कार्यालय पाल्पामा पछिल्लो समय खाली जस्तै छ । मोबाइल फोन विस्तारले तिब्रता लिएसँगै इमेल, इन्टरनेट, फेसबुक, म्यासेन्जर सहित सामाजिक सञ्जालको प्रयोग बढेपछि पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठ्ठीपत्र आउन छाडेको हो ।
घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खबर पाउन कुनै समय कि हुलाकी कुर्नु पथ्र्यो कि त आकासवाणी (आवा) । अब न हुलाकीको समय छ न त आवाको । समयले कोल्टे फेरेको छ । दशकअघिसम्म पनि एकबाट अर्को ठाउँमा सन्देश पठाउँदा चिठी–पत्रकै प्रयोग बढी हुन्थ्यो । त्यसभन्दा अघि टाढा रहेका मानिसलाई सम्पर्कमा जोड्ने काम चिठी–पत्रले मात्रै गथ्र्यो । यसबाहेक अरू केहीले पनि गर्दैन थियो । तर अहिले जमाना बदलिएको छ । टेलिफोनलाई समेत पछि छोड्दै सूचना आदान–प्रदानमा इमेल, इन्टरनेट, भाइबर, स्काइप, फेसबुक, ट्वीटर, वि–च्याट, वाट्स एप्सको प्रयोग ह्वात्तै बढेको हो । जसले हुलाकको अस्तित्व संकटमा परिरहेको छ ।
संघसंस्था र केही कार्यालय वा सदरमुकामबाट निस्कने पत्रपत्रिका मात्रै जिल्ला हुलाक कार्यालयमा पुग्छन् । संघसंस्था, कार्यालयका दिनहुँ सयौं चिठी–पत्र आउने गरेका छन् । विगत दुई÷तिन वर्ष ठप्प जस्तै भएका यी चिठी–पत्र अहिले भने ठूलो संख्यामा आउने गरेको हुलाकले जनाएको छ । मोबाइल फोन विस्तारले तिब्रता लिएसँगै इमेल, इन्टरनेट, फेसबुक, म्यासेन्जर सहित सामाजिक सञ्जालको प्रयोग बढेपछि पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठीपत्र आउन छाडे पनि कार्यालयका चिठी–पत्रको चाङले व्यवस्थापन गर्न भने कर्मचारीलाई हम्मे हम्मे भएको छ । यहाँ गत वर्षको साउन १ गतेदेखि चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १६ हजार ४ सय ९७ चिठी–पत्र दर्ता भएका छन् । जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी टंक भण्डारीका अनुसार आर्थिक वर्ष २०७९ साउन १ देखि २०८० असार मसान्तसम्म १५ हजार ५ सय ५७ चिठी–पत्र दर्ता भएका छन् । त्यस यता भदौ मसान्तसम्म ९ सय ४० चिठी–पत्र दर्ता भएको भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो‘ पछिल्लो समय व्यक्तिगत र पारिवारीक चिठी आउन छाडे पनि प्रमाणहरु पेश गर्नुपर्ने चिठी, वित्तिय संघ संस्था र स्वदेश तथा विदेशमा पठाउनुपर्ने पाठसलहरु दिनहुँ आउने गर्दछन् ।’ हुलाकले अघिल्लो आर्थिक वर्ष ७ हजार ७ सय २४ चिठी–पत्र निर्यात गरेको छ भने ७ हजार ३ सय १४ आयात गरेको छ । सोही अवधिमा हुलाकले ९ हजार ५ सय ७५ चिठी–पत्र जिल्लामै दर्ता गरी वितरण गरेको छ । टिकट विक्रीबाट मात्र हुलाकले एक वर्षमा ११ लाख ७३ हजार ८ सय ६० राजस्व संकलन गरेको छ ।
कुनै समय निकै लोकप्रिय रहेको हुलाकको ‘पोष्ट बक्स सेवा’ पछिल्लो समय प्रयोग घट्दो छ । पाल्पा हुलाक कार्यालयमा १५÷१६ प्रयोगकर्ताका पोष्ट बक्स रहे पनि अहिले ३ वटामा मात्र सिमित रहेको सूचना अधिकारी टंक भण्डारीले बताउनुुभयो । अहिले युनाईट मिसन अस्पताल, तानसेन नर्सिङ्ग स्कूल र लुम्बिनी मेडिकल कलेज प्रभासले मात्रै पोष्ट बक्स प्रयोग गर्ने गरेका छन् ।
हुलाकले इच्छुक सेवाग्राही (व्यक्ति वा संस्था) को नाममा एउटा पोस्ट बक्स नम्बर दिन्छ । कार्यालयमा सोही नम्बर लेखिएको बक्स राखिदिन्छ । उक्त व्यक्ति वा संस्थाको नाममा आएका चिठीपत्र तथा अन्य सामान त्यही बक्समा जम्मा हुन्छ । यस्तो बक्सको साँचो प्रयोगकर्ता र हुलाक कार्यालयसँग हुन्छ । सम्बन्धित सेवाग्राहीले आफूले इच्छाएको वेला बक्सबाट सामान निकाल्न सक्छ । विगतमा यस्तो सेवा निकै लोकप्रिय थियो ।
यस्तै यहाँ हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो । सोही व्यवस्था अनुसार बैंकका खातावालाको कुल दायित्व र ऋणीको ऋण रकम राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको सूचना अधिकारी भण्डारीले बताउनुुभयो । हुलाक सेवा एकदमै पुरानो सेवा हो । जतिबेला सूचना तथा जानकारी आदान प्रदान गर्ने साधन केही थिएन् त्यतीबेला हुलाक सेवाका माध्यमले मानिसलाई सहजता प्रदान गरेको थियो । नेपालमा विक्रम सम्वत् १९३५ मा नेपाल हुलाक घरको नामबाट स्थापना भई हुलाक सेवा प्रारम्भ भएको थियो । हुलाक सेवाको प्रमुख काम भन्नु नै चिठीपत्र एक ठाउँदेखि अर्को ठाउँसम्म पु¥याउनु हो । आज टेलिफोनको माध्यमबाट तुरुन्तै सन्देश संप्रेषण गर्न सकिन छ ।
त्यस्तै, इमेल रफ्याक्सबाट जस्ताको तस्तै चिठी पठाउन र पाउन सकिन्छ । समाजिक सञ्चालबाट भिडियो सहित कुराकानी गर्न सकिन्छ । व्यत्तिगत चिठी पत्रको काम घट्दो भएपनि कार्यालयका चिठी पत्र र पार्सलको काम भने निरन्तर नै चलिरहेको छ । पाल्पामा १३ इलाका हुलाक, ५२ वटा अतिरिक्त र एक जिल्ला हुलाक रहेका छन् । यहाँ चिठी बाँड्ने हल्कारा १२ र एउटाबाट अर्को हुलाकमा चिठीको थैली पु¥याउने हुलाकी १७ जना छन् । हल्काराको ३९ जनाको दरबन्दी रहे पनि १२ जना मात्र कार्यरत रहेका छन् । सूचनाको हकसम्बन्धी पत्रको दर्ता, कार्यालयले सूचनाको हक पालन गरे÷नगरेको अनुगमन, प्रेस पास एवं सञ्चार संस्थाको नवीकरणको दायित्व पनि हुलाकलाई थपिएको छ ।
इमेल इन्टरनेट र मोबाइल सेवाको कारण हुलाकमार्फत चिठीपत्र पठाउने चलन घटेपनि सरसामान पठाउने क्रम भने कायमै छ । नेपाल सरकारले हुलाक सेवालाई समयानुसार परिस्कृत गर्न नसक्दा हुलाकबाट प्रदान गरिने सेवा थप चुनौतिपूर्ण बन्दै गएको छ । हुलाक दिवसको अवसरमा सरकारले नेपालको हुलाक सेवालाई चुनौतिको रुपमा नलिई समय सापेक्ष परिवर्तन गर्न सक्नु पर्दछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts