खाद्य कम्पनी दाङले दशैंका लागि एक हजार खसी-बोका काठमाडौं लैजाँदै

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट एक हजार खसी–बोका खरिद गरी काठमाडौं पु¥याउने तयारी गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले यस वर्ष दसैँ–तिहारका लागि एक हजार खसी–बोका खरिद गर्ने भएको जनाएको छ ।

असोज २२ गतेदेखि खसी–बोका खरिद गरी असोज २८ गतेसम्म काठमाडौं पु¥याउने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुुनारले बताउनुभयो । उहाँका अनुसार अब केही दिनमै खरिद निर्धारण समितिको बैठक बसी मूल्य निर्धारण हुनेछ । गत वर्षको तुलनामा यस वर्ष तीन सय बढी खसी–बोकाको माग आएको हो ।

‘जिल्लाबाट यस वर्ष एक हजार खसी–बोका खरिद गरेर पठाउने परिपत्र भएको छ, हामी त्यसैको तयारीमा लागेका छौँ, सम्वत असोज २२ गतेदेखि हामीले मूल्य निर्धारण गरेर खरिद गर्ने तयारीमा छौँ’, प्रमुख सुनारले भन्नुभयो । जिल्लाका विभिन्न स्थानबाट खसी–बोका खरिद गरी एक पटकमा दुई–ढाई सयका दरले खरिद गरेर पठाउने आन्तरिक तयारी गरेको उहाँले बताउनुभयो ।

खसी–बोका जिल्लाको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका र देउखुरी भेगबाट खरिद गर्ने प्रमुख सुनारले बताउनुभयो । कम्पनीले दसैँका लागि दुई हजार खसी–बोका र एक हजार च्याङ्ग्रा काठमाडौं पु¥याउने भएको छ । कम्पनीले खसी–बोका र च्याङ्ग्रा खरिदका लागि प्रक्रिया अगाडि बढाइ पत्राचार समेत गरेको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले खसी–बोका र च्याङ्ग्रा खरिदका लागि करिब ८ करोड ३३ लाख रुपैयाँ छुट्याइएको जानकारी दिनुभयो । उक्त रकममध्ये कम्पनीले तीन करोड ४२ लाख बराबरको खसी–बोका तथा ४ करोड ९१ लाख बराबरको च्याङ्ग्रा खरिद गर्ने योजना बनाएको छ । घटस्थापनाका दिनसम्म खसी–बोका र च्याङ्ग्रा काठमाडौंमा पु¥याइने छ । ‘यस वर्ष करिब ८ करोड ३३ लाख रुपैयाँ बराबरको खसी–बोका तथा च्याङ्ग्रा खरिदका लागि छुट्याइएको छ ।

यो वर्ष मुस्ताङबाट च्याङ्ग्रा ल्याइने, तुलसीपुर र वीरगञ्जबाट खसी–बोका ल्याइने छ । कम्पनीले गत वर्ष तुलसीपुर र वीरगञ्जबाट एक हजार एक सय ९४ वटा खसी–बोका किनेको थियो भने दार्चुलाबाट एक सय ६२ वटा च्याङ्ग्रा खरिद गरेको थियो । कम्पनीले गत वर्ष जिउँदो खसी प्रतिकिलो तुलसीपुरबाट २५ केजीभन्दा माथिको ५ सय ७० रुपैयाँ, बोका ५ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो एक हजार २ सय ६० रुपैयाँका दरले बिक्री गरेको थियो ।

त्यस्तै सरकारले दसैँ–तिहारलाई लक्षित गरेर असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले भने जिल्लामा एक सय क्विन्टल सहुलियत मूल्यको खाद्य वितरणका लागि आएको सहुलियत पसलमा चामल मात्र हुने प्रमुख सुनारले जानकारी दिनुभयो । यस वर्ष सहुलियत मूल्यमा खाद्य वितरण गर्न स्टिम जिरा मसिनो चामल मात्रै रहेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

प्रतिकेजी ७ रुपैयाँ र प्रतिक्विन्टल ७ सय रुपैयाँ सहुलियतमा बिक्री गरिने उहाँको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष भने सहुलियतको खाद्यान्न दुई सय क्विन्टलबाट घटेर एक सय क्विन्टलमा आएको हो । गत वर्ष दुई सय क्विन्टल सहुलियतको खाद्यान्न आएकोमा ८० क्विन्टल मात्रै खाद्यान्न बिक्री भएको थियो । ‘यो वर्ष स्टिम जिरा मसिनो चामल मात्र छ, चामल बिक्री नै हुँदैन, अन्य चिनीलगायतका उपभोग्य सामग्री छैनन्’, उहाँले भन्नुभयो ।

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहूँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो ७ रुपैयाँका दरले सस्तोमा बिक्री वितरण हुनेछ । यसैगरी कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनु र उवा तथा जिउँदो खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिइएको छ ।

यस वर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका लागि दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । त्यस्तै साल्ट ट्रेडिङमार्फत् बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्ने छ भने बजार मूल्यको तुलनामा नूनमा प्रतिकिलो दुई रुपैयाँ र तेल, चिउरामा प्रतिकिलो सात रुपैयाँका दरले छुट दिनेछ । यसैगरी दुग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० र प्रतिपाँच सय ग्राममा ५० रुपैयाँका दरले छुट दिनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाडौं उपत्यकामा रहेका आठवटा बिक्री केन्द्र र तीनवटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहनेछ । त्यसबाहेक मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ ।

यसैगरी रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टक रहनेछन् । यस्ता पसल आवश्यकता अनुसार थप जिल्ला र स्थानमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरहरूको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज