कालिकोट । समाजवादका पक्षमा जनमत निर्माण गर्ने र कम्युनिष्ट एकताको पहलका लागि घोषणा गरिएको ‘समाजवादी मोर्चा’ को कालीकोट जिल्लाको घोषणा सभा असोज २३ गते हुने भएको छ ।
सदरमुकाम मान्ममा शनिवार बसेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतका राजनीतिक दलका नेताहरूको बसेको बैठकले समाजवादी मोर्चा जिल्लाको घोषणा यही असोज २३ गते गर्ने निर्णय गरेको हो ।
समाजवादी मोर्चाको केन्द्रीय कार्यक्रमअनुसार प्रदेश सभा घोषणा सभासँगै जिल्ला र स्थानीय तहसम्म संरचना बनाउने निति अनुरूप जिल्लाको घोषणा सभा हुँन लागेको नेकपा जिल्ला सेक्रेटरी शाहासी सीले जानकारी दिनुभयो ।
समाजवादी मोर्चा सम्बद्ध दलहरूका नेता कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी, नेकपा केन्द्रीय सदस्य तथा मोर्चाका प्रदेश सदस्य कर्णबहादुर सी, मध्य कर्णाली ब्युरो इन्चार्ज बिवेक सी, जिल्ला इन्चार्ज बलवान् सी, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सचिव धनजित शाही, जिल्ला संयोजक शैलेन्द्र चौलागाई, एकीकृत समाजवादीका नेता तुलराज विष्ट, धिरबहादुर बिष्ट, चित्रसिंह गाउँले र जनता समाजवादी पार्टीका नेतालगायतको बैठकमा सहभागिता रहेको थियो ।
बैठकले मोर्चाको घोषणा सभा कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति भरत सीलाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।
मोर्चाले समाजवादी बिचार धारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने भएको छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिका समेत खेल्ने बताइएको छ ।






