असफल बन्दै भेरी करिडोर आयोजना

करोडौँ लगानीका लिफ्ट सिँचाइ अलपत्र

नन्दराम जैशी
नन्दराम जैशी
Read Time = 11 mins

सुर्खेत । भेरी करिडोर सिँचाइ विकास आयोजनामार्फत् निर्माण गरिएका करोडौँ लगानीका लिफ्ट सिँचाइ आयोजनाहरू अलपत्र अवस्थामा छन् । राष्ट्रिय गौरवको योजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत निर्माण भएका लिफ्ट सिँचाइ आयोजनाहरू सञ्चालनमा नआउँदै अलपत्र अवस्थामा छन् ।

जिल्लाको बराहताल गाउँपालिका-४ तरंगामा रहेको भेरी लिफ्ट सिँचाइ आयोजनालगायतका योजना निर्माण सम्पन्न नहुँदै अलपत्र पारिएका हुन् । सिँचाइका लागि आकाशे पानीको भर पर्ने तरंगावासीका लागि अति नै महत्वपूर्ण मानिएको भेरी लिफ्ट सिँचाइ आयोजना सञ्चालनमै नआएर अलपत्र परेको हो ।

भेरी बबई आयोजना कार्यान्वयन गर्दा प्रभावित क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने र भेरी नदीको पानी बबई नदीमा स्थानान्तरण गर्दा उत्पन्न हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले करिडोरका विभिन्न टारलगायतका अन्य क्षेत्रमा साना पूर्वाधार विकास गर्न लिफ्ट सिँचाइको स्थापना गरिएको थियो ।

तर, यो आयोजनामार्फत् निर्माण भएका अधिकांश पूर्वाधारहरू प्रयोगविहीन बनेका छन् । नदी तथा खोलाले कटान गर्न सक्ने ठाउँमा लगाइएका तारजाली पनि बिचौलियाका कारण तहसनहस अवस्थामा छन् । उर्वर खेतीयोग्य जमिनलाई सिँचाइ गरेर कृषि उत्पादन बढाउने र झण्डै एक हजार घरपरिवारको आर्थिक पछौटेपनलाई कृषिका माध्यमबाट हटाउने उद्देश्यका साथ लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको थियो ।

विभिन्न आयोजना निर्माणका लागि झण्डै चार करोड खर्च भएको छ । तर, आयोजना निर्माणको काम पूरा भएको छैन । तरंगामा रहेको भेरी लिफ्ट सिँचाइ आयोजना एक उदाहरणमात्रै हो । धेरै आयोजनाको वर्तमान अवस्था जीर्ण छ । तरंगाको आयोजनाको मुहानसमेत भेरी नदीको बालुवाले पुरिएको छ भने पाइपलाइन खिया लागेर कुहिने अवस्थामा छन् । बिजुलीका लागि प्रयोग गरिएका सौर्य प्यानलहरू पनि जीर्ण र काम नगर्ने अवस्थामा छन् ।

निर्माणको जिम्मा पाएको सूर्योदय ऊर्जा प्रालि काठमाडौंले बाँध नै गुणस्तरहीन बनाएका कारण सञ्चालनमा ल्याउन नसकिएको स्थानीयहरूले बताउँदै आएका छन् । आयोजना निर्माण भएर सञ्चालनमा भने नआएको होइन । सुरुमा आयोजनाको परीक्षण गर्दा खुसी भएका स्थानीयहरू भने त्यसयता आयोजना सञ्चालन हुनेमा विश्वस्त देखिँदैनन् ।

आयोजनाको सञ्चालन र मर्मतमा स्थानीय सरकारले ध्यान नदिँदा आयोजना सञ्चालन हुनेमा आफू विश्वस्त नरहेको स्थानीय खड्गबहादुर शाही बताउनुहुन्छ ।

काम सम्पन्न नगरी भुक्तानी
लिफ्ट सिँचाइ आयोजना सञ्चालनमै नआई निर्माण सम्पन्न गरेको कागज देखाएर निर्माण कम्पनीले पूर्ण भुक्तानी लिएको पाइएको छ । निर्माण कम्पनी सूर्योदय ऊर्जा प्रालि काठमाडौंले आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ६२ लाख ५० हजार, २०७७/०७८ मा एक करोड ३४ लाख ५० हजार र आव २०७८/०७९ मा एक करोड ४० लाख रुपैयाँ भुक्तानी लिएको हो । त्यसयता निर्माण कम्पनी फर्किएर आएको छैन ।
कागजमा सम्पन्न भएको आयोजना सञ्चालनमा आउन नसकेपछि बराहताल गाउँपालिकाले थप ५० लाख रुपैयाँ पनि खर्च गर्‍यो । तर, थप गरिएको रकम पनि आयोजना सञ्चालनका लागि सही सदुपयोग हुन सकेन । उक्त रकम उपभोक्ता समितिमार्फत् फजुलमा खर्च भएको छ ।

आयोजना निर्माण गर्दा बजेट अभाव भएपछि तत्कालीन समयमा एक करोड ६५ लाख रुपैयाँ अनुदान गाउँपालिकाले दिएको बराहताल गाउँपालिका-४ का पूर्वअध्यक्ष टेकबहादुर कठायत बताउनुहुन्छ । कठायतले आयोजना सम्पन्न भएपश्चात् सञ्चालनमा आउन नसकेपछि थप ५० लाख रकम थप अनुदान मागेर बाँधमा तारजाली र घेराबारा गरेको बताए पनि उक्त रकम सही सदुपयोग भने भएको देखिँदैन । उक्त रकम मुहानको संरक्षण गर्ने भन्दै तारजालीमा खर्च गरिएको छ ।

५० लाख खर्च गरेर निर्माण गरिएको तारजालीले मुहानको संरक्षण गर्नुको साटो उल्टै मुहानकै लागि जोखिम बनेको छ । आयोजनाका लागि पानी तान्ने मोटर राख्नका लागि बनाइएको मुहानको डिजाइनअनुसार उक्त तारजाली आवश्यक नभए पनि बिचौलियाले व्यर्थमा खर्च गरेको नाम नबताउने शर्तमा एक प्राविधिकले बताए ।

ADVERTISEMENT

आयोजना निर्माणमा तत्कालीन गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत, इञ्जिनियरहरू यादव सापकोटा, गणेश भण्डारी र हरि बुढा, प्रमुख प्रशासकीय अधिकृत नेत्र गिरीलगायतले डिजाइनमै समस्या भएको र गुणस्तरहीन काम भइरहेको थाहा पाए पनि रोक्न कुनै चासो नदिएकोे स्थानीय बताउँछन् ।

बारीको छेउमा बगेको भेरी नदीको पानीले सिँचाइ सुविधा पाउने आशामा बसेका तरंगाका किसानले अझै पनि आकाशे पानीमा निर्भर हुनुपर्दा अलपत्र आयोजनाले समेत गिज्याइरहेको छ । आयोजना अलपत्र परेपछि चालु आर्थिक वर्षमा बराहताल गाउँपालिकाले आयोजना सञ्चालनका लागि ३० लाख बजेट विनियोजन गरेको थियो ।

यता आयोजना कार्यान्वयन गरिरहेको भेरी करिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका प्रमुख सिडिई ईश्वरीप्रसाद तिवारी आफू नयाँ भएकाले अध्ययन नगरी केही जवाफ दिन नसकिने बताउनुहुन्छ । आयोजनाले हालसम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेंशी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका विभिन्न क्षेत्रमा भेरी नदीमा वारि र पारि गरी जम्मा सातवटा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको र एक निर्माणको अन्तिम चरणमा रहेको भेरी बबई डाइभर्सनको बेवसाइटमा उल्लेख छ ।

तर, यी आयोजनाहरूको वर्तमान अवस्थाका बारेमा भने कार्यालयले कुनै जानकारी राखेको छैन । निर्माण सम्पन्न भएका अधिकांश आयोजनाहरू सञ्चालनमै नआएर अलपत्र अवस्थामा छन् । पञ्चवर्षीय योजनासहित जम्मा एक सय ९५ वटा लिफ्ट प्रविधिका सिँचाइ योजना बनाउने लक्ष्य राखिएकोमा हाल २८ योजनामा ठेक्का लागिसकेको कार्यालयले जनाएको छ ।

सुरुमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट कार्यान्वयन भएर भुक्तानी भएको र हाल आयोजनाको आफ्नै कार्यालय स्थापना भएकाले यसबारे अध्ययन गर्न लागिएको आयोजना प्रमुख तिवारीले बताउनुभयो ।

आयोजनाको उद्देश्य र अवस्था
आर्थिक वर्ष २०७५/०७६ मा भेरी करिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना स्थापना भएको थियो । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको देवस्थलदेखि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा सिँचाइ, कृषि सडक र ग्रामीण विद्युतीकरण गर्ने आयोजनाको उद्देश्य छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेखित क्षेत्रमा दुई किलोमिटर दूरीमा एक सय ९५ लिफ्ट सिँचाइ र ४९ वटा कुलोको जीर्णोद्वार तथा नदी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । जसको कुल लागत झण्डै तीन अर्ब ६१ करोड ११ लाख रहेकोमा हालसम्म एक अर्ब ५२ करोड ४५ लाख ८४ हजार खर्च भएको आयोजनाले जनाएको छ ।

भेरी करिडोरमा सतह, सौर्य तथा विद्युतीय लिफ्ट सिँचाइ प्रणालीको निर्माणका साथै केही क्षेत्रमा नदी व्यवस्थापनसमेतका लागि गुरुयोजना स्वीकृत भई समुदायमा आधारित विभिन्न पूर्वाधार निर्माणका कार्यहरू भइरहेको आयोजनाले जनाउँदै आएको छ ।

भेरी करिडोर गुरुयोजनामा सतह सिँचाइमार्फत् आठ हजार सात सय ६ हेक्टर जमिन लिफ्ट सिँचाइमार्फत् सात हजार दुई सय ८४ हेक्टर क्षेत्रफलमा सिञ्चित गर्ने गुरुयोजनामा उल्लेख छ । हालसम्म सतह सिँचाइअन्तर्गत तीन सय १२ योजनामा एक सय तीन योजना सम्पन्न भएका छन् । लिफ्ट सिँचाइका एक सय ९५ योजनामा सातवटा निर्माण सम्पन्न भएका छन् भने एक निर्माणका क्रममा र २८ वटामा ठेक्का लागिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज