बझाङ भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन, कार्यविधि बनाएर गोरखा, सिन्धुपाल्चोकको जस्तै पुनर्निर्माण गरिने

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 5 mins

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितलाई राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न बझाङ आइपुग्नुभएका प्रधानमन्त्री दाहालले भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु हुने परिवारलाई तत्काल २ लाख राहत दिने घोषणा गर्नुभएको छ ।

भूकम्पबाट पूर्ण क्षति भएका घर परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने उहाँले बताउनु भयो ।

बझाङको सदरमुकाम चैनपुरमा भूकम्पबाट भएको क्षति अवलोकन पश्चात प्रधानमन्त्रीले सो घोषणा गर्नुभएकाे हाे ।

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुननिर्माण र पुनथापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले राहत सामग्रीहरू पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन भएको र थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने समेत बताउनु भएको छ ।

ADVERTISEMENT

त्यस्तै भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइने ,सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदी क्षति पुगेका संरचनाहरूको ( क्षति मूल्याङ्कन) गरी यथाशीघ्र पुनः निर्माण गरिने, हालसालै गएका थुप्रै भुकम्पहरूलाई जोखिमको पूर्व संकेतको रूपमा लिंदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन, मूल्याङ्कन न्यूनीकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको र यी कामलाई बझाङमा उच्च जोखिममा रहेका क्षेत्रमा समेत अघि बढाइने उहाँले बताउनुभयो ।

‘उहाँले भन्नुभयो’ बझाङ र सुदूर पश्चिमको समग्र विकासमा निर्णायक महत्व राख्ने कैयन परियोजना अघि बढाइएका छन् । हालै मित्र राष्ट्र चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका र दार्चुलाको टिंकर नाका समेत खोल्ने सहमति भएको छ । नेपालतर्फ दिपायल–खुटिया–उरै–ताक्लाकोट फास्ट ट्र्याक सडकका लागि र टिंकर जोडने महाकाली करिडोरका लागि बजेट सुनिश्चत गरिएको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटन का क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिने उहाँले घोषणा गर्नुभयो ।

गत मंगलबार १६ गते बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पले बझाङ जिल्ला बढीनै प्रभावित भएको छ । बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । भूकम्पबाट भौतिक क्षति पनि ठूलो भएको छ।

टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?