लालुपाते सहकारीविरुद्ध फेरि निकालियो विरोध र्‍याली, पक्राउ परेकालाई छोड्ने प्रपञ्चको विरोध

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत अपचलन गरेपछि उसका बचत कर्ताहरुले दिक्तेलबजारमा दोश्रो पटक विरोध र्‍याली निकालेको छ ।

बचतकर्ताहरुको साँवा, ब्याजसहित बचत रकम फिर्ता नभएको भन्दै बचतकर्ताहरुले बनाएको संघर्ष समितिको नेतृत्वमा दिक्तेलबजारमा शुक्रबार दिउँसो बृहत र्‍याली निकालेको हो ।

सहकारी विरुद्ध स्थानीय हेलिप्याडबाट सुरु भएको र्‍याली पूरानो बेशक्याम हुंदै रत्नपार्क, रत्नपार्क–त्रिवेणीचोक हुंदै जिल्ला प्रहरी कार्यालय–जिल्ला अदालत गेट पुगेर पुनः हेलिप्याडमा पुगेर समापन भएको थियो । बचत कर्ताहरुको बाक्लो उपस्थिति भएको र्‍यालीले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको गेट बाहिर प्रहरी प्रशासन जिन्दावाद, सम्मानित अदालत जिन्दावाद, बचतकर्ताको रकम फिर्ता गर, ठगीमा संलग्नलाई छोड्न पाइँदैन, लालुपाते सहकारी ऋणीहरु होसियार, बचतकर्ता ढाट्न पाइँदैन, एउटा मरेर संस्था मर्दैन, कानुनी राज्यको पालना गर, बचतकर्ताले न्याय पाउर्नैैपर्छ, लालुपाते बचतकर्ता एक हौ जस्ता नारा लगाएका थिए ।

कोणसभामा परिणत र्‍यालीलाई बचतकर्ता तथा ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सम्बोधन गर्नुभएको थियो ।

सहकारी सञ्चालनमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको र यदकदा छोड्ने प्रपञ्च भईरहेको भन्दै त्यसो भएमा थप चर्को आन्दोलन हुने बताउनुभयो । बचतकर्ताको पैसा ढिलोचाँडो जसरी पनि फिर्ता हुने घिमिरेले विश्वस्त पार्नुभयो ।

बचतकर्ताले आफ्नो साँवा,व्याजसहित पैसा नपाएसम्म विरोध कार्यक्रम निरन्तर हुने बचतकर्ता धनिराम नछुङले बताउनुभयो । बचत अपचलनमा संलग्न अन्यलाई पनि पक्राउ गरी कानुनी कारबाही गर्दै बचतकर्ताको पैसा छिटोभन्दा छिटो पाउनुपर्ने नछुङले बताउनु भयो ।

ADVERTISEMENT

पैसा हिनामिना गरेपछि सहकारी विरुद्ध २०७९ फागुन २ गते सात जनाको नामबाट प्रहरीमा किटानी जाहेरी दिइएको र हाल तीनजना पक्राउ परेको बचतकर्ता लेखराज आचार्यले बताउनुभयो । आचार्यले मात्रै ५४ लाख सहकारीमा बचत गरेका छन् । बचतकर्ता हरी प्रसाद आचार्यले पनि न्याय नपाएसम्म पक्राउ परेकालाई छोड्न नहुनु बताउँदै विरोध कार्यक्रम भने भईरहने बताउनुभयो ।

२०७८ बैशाख १५ गते कोभिडका कारण सहकारीका अध्यक्ष अनिल जोशीको निधन भएपछि सहकारीको हिसाबकिताब लथालिङ्ग छ । अध्यक्षको निधन भएको २९ महिनापछि पनि सहकारी नचलेपछि आफ्नो लाखौ रकम फिर्ताको माग राख्दै बचतकर्ताहरु दैनिक सहकारीको कार्यालय पुग्छन् तर, कार्यालय बन्द छ ।

२०७८ बैशाख १६ पछि कुनै पनि कारोवार नभएको सहकारीमा ४ हजार ५०० जना बचतकर्ता र ७४ जना ऋणी रहेका छन् । ऋणीबाट साँवा ब्याजगरी करीव १० करोड उठ्न बाँकी छ । न्युनतम ३० हजारदेखि ७५ हजारसम्म ऋण लगेका छन् । साँवा ब्याजगरी बचतकर्तालाई ७ करोड फिर्ता दिनुपर्ने सहकारीले जनाएको छ ।

सहकारीका एकजना पदाधिकारीका अनुसार अध्यक्ष र म्यानेजरले मात्रै कारोवार गरेको देखिन्छ । दिक्तेलको पूरानो बैंकचोकमा अहिले सहकारीको कार्यालय पूर्णरुपमा बन्द छ । सहकारी सञ्चालनमा संलग्न तीन जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिसकेको छ । अदालतबाट म्याद थप गरेर पक्राउ परेकाबाट सोधपुछ भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम गोप्य राखिएको छ ।

बचतकर्ताहरुले बचत फिर्ताका लागि भन्दै संघर्ष समिति गठन गरी २०७९ माघ ९ गते पहिलो पटक सहकारी विरुद्ध विरोध र्‍याली निकालेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज