मिथिलाका नारीको कठोर व्रत जितिया

घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

धनुषा ।
‘जितिया पावनी बड भारी
धियापूताके ठोकी सुतौलनी
अपने खयलनी भरि थारी’

अर्थात् जितिया पर्व निकै कठिन छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सार्थकताका क्रममा गरिने चरणको कार्य मात्र हो ।

यस पर्वको आफ्नै विशिष्ट विधिविधान रहेको पण्डित लालबाबु झाले बताउनुभयो । “पर्वको एक दिनपूर्व अर्थात् आश्विन कृष्ण सप्तमीका दिन सधवा स्त्रीगण माछा एवं कोदोको रोटी खाने गर्छन् भने विधवाद्वारा भात, चिउरा, कोदोको रोटी खाने परम्परा छ । साहाकारी हुनेले स्नान गरी गम्हरी (कोसा भित्रै फल्ने धान)को खिर वा भात खाने चलन छ”, उहाँले भन्नुभयो, “अष्टमी तिथिको बिहानै महिलाले मन शुद्धी गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन् । त्यसपछि दिनरात उपवासमा बस्नुपर्ने भएकाले छाकभरि भोजन गर्छन् । महिलाले व्रत गर्नुभन्दा पहिला नै खाने गरेकाले व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास गरिन्छ ।”

पण्डित झाका अनुसार बच्चा ब्यूँझेपछि तिनका आमाले तिनको मुख, हात धुन लगाई रातिमा तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्य स्वरुपको चिउरा, दही खान दिन्छन् र आफू दिनरात उपवासमा बसेर जिमुतवाहन तथा चिल र स्यालको कथा सुन्छन् । जुन दिन नुहाएर खाइन्छ त्यसको भोर(बिहानी पख)मा घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ जसलाई ओङगठन भनिने उहाँले बताउनुभयो । ओङ्गठनको मन्त्र 
‘धियाके जनम जनी दिय हे विधाता
देवनी सहोदर जेठ भाय
घैलाके ओङ्गठन गेरुली
बहिनियाँके ओङ्गठन भाय ।।’

भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिसकेपछि घर आउँछन् । आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको पुजनको तेल लगाइदिने चलन रहेको पण्डित झाले बताउनुभयो । उहाँका अनुसार त्यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन् ।

यसरी गरिन्छ जिमुतवाहनको पूजा

पुरोहित इन्द्रकान्त झाले कृष्णअष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गरिने बताउनुभयो । झाका अनुसार त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।

“मध्याह्नतिर टोलभरिका महिला एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ गर्छन् । जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छन् । सबैले कथा श्रवण गरेपछि आआफ्ना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ”, पुरोहित इन्द्रकान्तले भन्नुभयो, “त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हागामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।”

को हुन् जिमुतवाहन ?

भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेको विश्वास रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

ADVERTISEMENT

चिल र स्यालको पूजा

हिन्दूधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोअनुरूप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्ने प्रचलन रहेको छ ।

थारू महिलाबीच लोकप्रिय पर्व

थारू जनजातिका महिलाबीच पनि यो पर्व अति लोकप्रिय रहेको छ । थारू समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् । यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेँलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ । भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ । पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ ।

दसैँ आगमनको सङ्केत

जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रूपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाईसमेत पूजा गर्ने गरेको पाइन्छ । यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पुजा गरिन्छ । छोरा र छोरीमा भेदभाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ । ऐतिहासिक यस भूभागमा बसोबास गर्ने मुस्लिमबाहेकका महिलाको पर्वका रूपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ ।

मिथिला क्षेत्रमा एउटा भनाइ प्रसिद्ध छ :
‘जितिया, दसैँ, दशमी, दशमी बीसे
सुकराति, सुकराति छवे छठि ।।’

अर्थात् जितियाको दश दिनपछि दसैँ, दसैँको बीस दिनपछि दीपावली र दीपावलीको छ दिनपछि छठ पर्व हुने गर्दछ । यस भनाइले पनि जितिया सकिएपछि विजयादशमीको रौनकता सुरु हुन्छ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई दर्शाउने गरेको पुरोहित इन्द्रकान्तको भनाइ थियो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *