सिन्धुली । गोलञ्जोर गाउँपालिका–७ खुर्कोट स्थित सुनकोशी नदी किनारमा शुक्रबार जल उत्पन्न विपद्मा गरिने खोज तथा उद्धारको कृतिम घटना अभ्यास गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल रेडक्रस सोसाईटी, सिन्धुलीले विपद् खोज तथा उद्धारका लागि संयुक्त अभ्यास सम्पन्न गरेको हो ।
जल उत्पन्न विपद्का बेला हुन सक्ने खतरा, त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृतिम अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
अभ्यासका क्रममा सुनकोशी नदीमा आएको बाढीले केही व्यक्तिहरु बगाएको खबर पाउन साथ सुरक्षाकर्मीहरु उद्धारका लागि परिचालित हुन्छन् । गोलञ्जोर गाउँपालिका–७ खुर्कोट स्थित सुनकोशी नदीमा बगिरहेका व्यक्तिहरु ‘बचाउ ! बचाउ !’ ‘गुहार ! गुहार !’ को अलाप विलाप गर्दछन् ।
उद्धार गर्ने क्रममा गम्भिर चुनौतीहरु थपिन्छन् । पौडीमा दख्खल भएका तथा तालिम प्राप्त उद्धारकर्मीहरु कतिपनी नआत्तिकन हिम्मत बढाएर ‘स्लेदरिङ’ विधिको सहायताले उद्धारमा खटिन्छन् । उद्धारमा हेलि सपोर्ट उपलब्ध हुँदैन । नदी माथि रहेको झोलुङ्गे पुलमा बेश तयार गरी प्रकोप पीडितसम्म पुग्ने पहुँच बनाउँछन् । यसको नजिकै रहेका पूल, रुख र चट्टानहरुमा डोरी बाँधी त्यसैको सहायता लिएर केही समयमै जोखिमपूर्ण उद्धार गर्दछन् ।
बाढी पीडितलाई प्राथामिक उपचारको लागि ब्याक बोडमा राखि सुरक्षित तवरले नेपाल रेडक्रस सोसाईटीको प्राथमिक उपचार स्थानतर्फ लैजान्छन् । बगाएर ल्याएका केही व्यक्तिहरु नदी किनारमा अड्केको अवस्थामा देखिन्छन् । उनिहरुलाई जिपलाईन मेथोड प्रयोग गरेर सुरक्षित स्थानमा लगिन्छ ।
उद्धारकर्मीहरुले उद्धार गरेका नवजात शिशुलाई स्वास्थ्य जाँचको लागि रेडक्रस सोसाईटीको स्वास्थ्यकर्मीहरुलाई बुक्राउँछन् । रेडक्रसका स्वास्थ्यकर्मीहरु प्राथमिक उपचार गरेर थप उपचार गर्न सुविधा सम्पन्न अस्पताल लिएर जान्छन् । सोही क्रममा नदीको बाँया किनारामा केही व्यक्तिहरु बाढीले फेरी बगाएर ल्याउँछ । उद्धारकर्मीहरु ¥याफ्ट वोटको सहायताले उद्धार गर्न लाग्छन् ।
बाढीमा बग्दै गरेको अवस्थामा उद्धार गरिएका दुई जना व्यक्तिहरु घाईते भएका हुन्छन् । एक जना मृत फेला पर्दछन् । घाईते व्यक्तीहरुलाई प्राथामिक उपचार कक्षमा रेडक्रस र तालिम प्राप्त सुरक्षा निकायका उपचारकहरुलाई बुझाउँछन् । स्वास्थ्य स्वयमसेवकहरुले घाईतेको अवस्था हेरी थप विग्रन नदिन प्रि हस्पिटल टिटमेन्ट गरी थप उपचारको लागि एम्बुलेन्समा सुविधा सम्पन्न अस्पताल लिएर जान्छन् ।
मृतकलाई सुरक्षित स्थानमा ल्याई नेपाल प्रहरीले पहिचान गर्ने, आफन्त खोजी गर्ने र शवको सनाखत गरी मुचुल्का उठाउने कार्य गर्दछन् । केही उद्धारकर्मीहरु अझैपनि घाइतेहरु छुटेका हुन सक्छन् भनेर सम्भावित घाइतेको खोजी कार्यमा लाग्छन् । सोही क्रममा नदीमा पानीको वहाव धेरै भएकाले वोट पल्टिन्छ । उद्धारकर्ताहरु छिन्नभिन्न हुन्छन् । बहावका कारण उद्धारमा जटिल्ता आएपनि विचलित नभई परिस्थीतिलाई आफु अनुकुल पार्न खोज्छन् । उनिहरु एककृत्रित हुन हुन्छन् र पुनः वोटलाई पहिलाकै अवस्थामा फकाई खोजी गर्दछन् ।
अर्को एक टोलीले विपद्को बेलामा बहावमा पर्दा आफू बच्न स्थानीय श्रोत साधन पनि प्रयोग गरी सुरक्षित स्थानतर्फ आउन सकिने उदाहरणहरु प्रस्तुत गर्दछन् । पानीको बहावबाट तैरिन पानीका खाँली बोतलहरु, म्याट्रेस, डोरी, केराको थाम र ट्यूवहरुबाट पनि स्थान्तरण गर्न सकिन्छ भनेर अभ्यास देखाउँछन् ।
यस अभ्यासबाट बाढीले बगाएका व्यक्तिको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, बाढीमा डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने र अस्पतालसम्म कसरी पुर्याउने भन्ने विषयमा प्रत्यक्षदर्शीहरुलाई जानकारी भएको जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले बताउनुभयो । यस्ता खालका तालिम स्थानीयहरु सबैसामु पुर्याउन आवश्यक रहेको उहाँको भनाई थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललेको अध्यक्षता तथा जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जल उत्पन्न विपद्मा गरिने खोज तथा उद्धार सामाग्रीहरुको पनि प्रर्दशनी गरिएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु, सरकारी तथा गैरसकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीयबासीहरुको सहभागिता थियो ।






