बाँके । सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका-३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो ।
जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदा ती बालकको मृत्यु भइसकेको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख सर्पदंश विज्ञ डा कृष्ण आचार्यले जानकारी दिनुभयो । “ती बालकलाई निकै विषालु गोमन सर्पले डसेको रहेछ, अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो”, डा आचार्यले भन्नुभयो, “अस्पताल ल्याउन ढिलाइ भएका कारण बिरामीको उपचार गर्न सकिएन ।”
यो वर्षको वैशाखदेखि भदौसम्म पाँच महिनामा भेरी अस्पतालमा उपचारका लागि पुर्एकामध्ये बाटोमै छ जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पताल पुर्याएको डा आचार्यले बताउनुभयो ।
उहाँका अनुसार पाँच महिनाको अवधिमा भेरी अस्पतालमा चार सय २० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । सर्पदंशबाट उपचारकै क्रममा यो अवधिमा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । अहिले एक वार्ड र एक आइसियुमा गरी दुईजना सर्पदंशका बिरामी भेरी अस्पतालमा उपचाररत रहेका छन् ।
डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पुर्याए बिरामीको ज्यान जोगिने बताउनुभयो ।
सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने अस्पतालमा ल्याउन उहाँको सुझाव छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले ८० प्रतिशत बिरामी अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताउनुहुन्छ । “सर्पले टोकेमा प्रि हस्पिटल केयर नै सबैभन्दा महत्वपूर्ण हुन्छ, समयमै अस्पताल ल्याउन सके अकालमै ज्यान गुमाउनुपर्दैन”, उहाँले भन्नुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts