काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो फिल्म जवानले इतिहास रचिरहेको छ । पहिलो दिनबाट नै फिल्म हलमा दर्शकको अत्यधिक भीड थियो । हालसम्म पनि फिल्ममा उत्तिकै भीड देख्न सकिन्छ । शाहरुखले चार वर्षको लामो ब्रेकपछि ‘पठान’बाट कमब्याक गरे । शाहरुखको पहिले ‘पठान’ र अहिले ‘जवान’ दुवै फिल्मले बक्स अफिसमा कमाइ गरेका छन् ।
‘पठान’ बक्स अफिसमा हिन्दी फिल्मको अल टाइम ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ । भारतीय बक्स अफिसमा हालसम्म कुल ४४३ करोड कमाएको ‘जवान’ वर्ल्डवाइडले पनि ७५० करोडभन्दा बढीको व्यापार गरेको छ ।
शाहरुख खान, नयनतारा र विजय सेतुपति अभिनित एट्ली निर्देशित ‘जवान’ बक्स अफिसमा ब्लकबस्टरको रुपमा उभिएको छ । ‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख एक वर्षमा १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।
सन् २०२३ मा ‘पठान’ र ‘जवान’ जस्ता एकपछि अर्को दुई ठूला ब्लकबस्टर फिल्म दिने शाहरुख बलिउडको बादशाह बनेका छन् । एक वर्षमा शाहरुखले आफ्ना दुई फिल्मबाट १ हजार करोडभन्दा बढी कलेक्सन गरेका छन् । ‘पठान’ले जम्मा ५४३.०५ करोड र ‘जवान’ले मात्र ३ दिनमा ४०० करोडको आँकडा पार गरेसँगै अब ‘जवान’ले दोस्रो सातापछि ४७९।९९ करोड कमाउन सफल भएको छ । शाहरुख खान घरेलु बक्स अफिसमा १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।
२०२३ मा केवल दुई रिलीजसँगै, शाहरुख १०२३.०४० करोडको कुल संकलनसहित बक्स अफिसको राजा बने। यदि हामीले शाहरुखलाई अन्य कलाकारसँग तुलना गर्ने हो भने, जहाँ अक्षय कुमारले २०१९ मा चारवटा रिलिजका साथ बक्स अफिसमा कूल ७५७.१३० करोड कमाए, अब शाहरुखले अक्षयको कीर्तिमान तोडेर सबैभन्दा धेरै कमाउने अभिनेताको उपाधि हातमा लिएका छन् । कमाईको मामिलामा शाहरुखले रणवीर सिंह, सलमान खान र सनी देओललाई पछि पारेका छन् ।
चाखलाग्दो कुरा के छ भने ‘जवान’ दुई हप्तापछि पनि दर्शकलाई हलसम्म ल्याउन सफल भइरहेका छन् । फिल्मले बक्स अफिसमा प्रतिस्पर्धा नगरी राम्रो कमाई गर्न सफल भएको छ । तेस्रो साताको अन्त्यसम्ममा फिल्मले ५५० करोडको आँकडा सजिलै पार गर्ने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts