भारतीय नागरिकलाई नक्कली जग्गा धनी बनाइ ३४ बिगाहा जग्गा बिक्री गरेपछि किसानहरु आन्दाेलनमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 8 mins

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका-६ मा रहेको ३४ बिगाहा जग्गा भारतिय नागरिकलाई नक्कली जग्गा धनी खडा गरि जग्गा बिक्री भएपछी स्थानीय किसानहरुले बिरोध गरेका छन् ।

करिब ५० बर्ष स्थानीय प्रेमशरण खत्रीले स्थानिय किसानहरुलाई आफ्नो जग्गा जोत भोग गर्न दिएका थिए । जमिन्दार खत्रीले किसानहरुलाई दिएको केहि जग्गामा मोही लागेको थियो भने केहि जग्गा हुण्डा (भाडा)मा थियो । खत्रीले किसानहरुसंग हुण्डाको वर्षेनी पैसा लिने गरेको स्थानीय इन्द्रमणि पाण्डेले बताउनु भयो । 'खत्रिले केहि किसानहरुलाई जग्गा पास दिन्छु भन्नुभएको थियो तर उहाँले जग्गा पास नदिदैँ उहाँको मृत्यु भयो,' पाण्डेले भन्नु भयो ।

खत्रीको मुत्युपछि उक्त जग्गा लिन उनको कुनै वारेस पनि आएनन् । जग्गा यत्तिकै किसानहरुले जोतभोगमा गरिरहे । भुमी सुधार तथा मालपोत कार्यालयमा रोक्का भयो । लामो समयसम्म जग्गाको वारेस नआएपछि भुमाफियाहरुले उक्त जग्गामा आँखा लगाए र नक्कली जग्गाधनी खडा गरि जग्गा बेचियो । किसानहरुले जोत भोग गरिरहेको जग्गा भु-माफियाहरु नक्कली जग्गाधनी खडा गर्न दिल्लीमा चार्टड एकाउन्टेन्ट काम गरि बस्दै आएको अनुप मेहरालाई खत्रीको छोरा बनाइ नाता प्रमाणित गरि वारेस बनाए । नाता प्रमाणितको आधारमा ठुलो रकम घुस खुवाई भु-माफियाहरुले करिब ५ करोड रुपैयामा उक्त ३४ विगाहा जग्गा आफ्नो नाममा पास गरेको स्थानीय किसानहरुको आरोप छ ।

पडरी गाउँका ६५ जना स्थानिय किसानको जोतभोगमा रहेकाे ३४ विगाहा जग्गा भु-माफियाको इसारामा अनुपले विक्री गरेपछि किसानहरु बिचल्लीमा परे । ६८ वटा कित्तामा रहेको ३४ विगाहा जग्गा मध्ये १ विगाहा ५ कट्ठा जग्गामा पक्की घरघडेरीहरु समेत बनेका छन् भने अरु जग्गा खेत खरिहानको रुपमा प्रयोग हुदै आएको छ । पिडित किसानहरुको जग्गा फिर्ता ल्याउन स्थानिय समाजसेवी ईन्द्रमणि पाण्डेको नेतृत्वमा टोली काठमाण्डौ र भारतको दिल्ली पुगी आवश्यक प्रमाणहरु जुटाई अख्तियार पुग्यो ।

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-६ मा ३४ विगाहा जग्गा नक्कली जग्गा धनीले बेचेको ठहर गर्दै १३ जना कर्मचारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । भु-माफियाहरुले मालपोत, भुमि सुधार र साविक सनइ गाबिसका कर्मचारीहरुको मिलोमतोमा नक्कली जग्गा धनी खडा गरि विक्री गरेको अख्तियारको अनुसन्धानले खुले पछि भु-माफियासहित कर्मचारीहरु विरुद्ध आयोगले भ्रष्टाचार मुद्धा चलाएको हो ।

जिल्लाको साविक सनई गाविस ८(ख) कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा भु-माफिया, मालपोत र भुमि सुधार कार्यालयका प्रमुखसहितका कर्मचारीहरु नक्कली जग्गाधनी खडा गरि रोक्का जग्गा फुकुवा गरि पास गरेर व्यापक भ्रष्टाचार गरेको ठहर भएपछि अख्तियारले १३ जना विरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको विगो दावी गर्दै भ्रस्टाचार मुद्दा चलाएको हो । अख्तियारले चलाएको मुद्दामा मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरु नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिकका रविकुमार खत्री विरुद्ध मुद्दा चलाएको हो । गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

‘भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्रलगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरुसमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहराबाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको अख्तियारले मुद्दा दर्ता गरेको हो ।

जग्गा पीडित किसान सघर्ष समितिका अध्यक्ष ईन्द्रमणी पाण्डेले अख्तियारले भ्रष्टाचारको बिषयमा मात्रै हेरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ - 'जालसाजी र फर्जी कागजात गराएको बिषयमा सिआइबीले हेर्नु पर्छ । यी भु-माफियालाई कानुनी दायरामा ल्याउनु पर्छ ।' पुर्व भुमि सुधार राज्य मन्त्री हकिउल्ला खाँले नवलपरासीको लागी यो काठमाडौंको ललिता निवास जस्तै भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -'५० वर्ष पहिला देखि किसानले जोत भोग गर्दै आएका जग्गा किर्ते गरी विक्री गरेका भु-माफियाहरुलाई कडा भन्दा कडा कारवाही हुनु पर्छ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज