कालीकोट । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी कालीकोट जिल्लाका विभिन्न ठाउँमा पनि मनाइएको छ ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ साल यता भदौ २९ गतेका दिन यो दिवस मनाउन थालिएको हाे ।
नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धी पारित भयो । त्यसपछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालिएको हो ।
सोही अनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ साल यता भदौ २९ गतेबाट राष्ट्रिय बाल दिवस मनाइँदै आइरहेको छ । त्यसै सन्दर्भमा आज ५९ ओैँ राष्ट्रिय बाल दिवसको अबसरमा कालीकोटमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ ।
जिल्लामा भएको कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा संयोजक बाले बिश्वकर्माले संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता जस्ता बिषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजना र कालीकोट जिल्ला स्थित क्रियाशील संघसंस्था हुरेन्डेक नेपाल, किर्डाक नेपाल, बालविवाह बिरूद्व साझा अभियान कालीकोट, फेडो नेपाल, इन्सेक नेपाल, शिक्षा विकास तथा समन्वय इकाई कालीकोट लगाएतका सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा भब्य कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रम सहभागी बालविवाह बिरूद्व साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीले कालीकोट जस्तो बिकट जिल्लामा बालबिवाह, बहुबिवाह, जस्ता घटनाले समाजमा हिंसा बढेको बताउँदै यस्ता परम्परागत हानिकारक अभ्यास रोक्न सबै सरोकारवाला लागि पर्नुपर्ने बताउनुभएको छ ।
उहाँले संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धता अनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको समेत बताउनुभयो ।
बालबालिकाको हक, अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको परिषद्ले बालबालिकासम्बन्धी नीतिगत तथा कानुनी पैरवी, सडक बालबालिकामुक्त राष्ट्र घोषणा, बालबिवाह तथा बालश्रम अन्त्य, अनाथ तथा अपाङ्गता भएका बालबालिका संरक्षण, उपचार, यौनहिंसा तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार र संरक्षण, ओसारपसारमा परेका बालबालिकाको उद्धार र संरक्षण तथा कानुनी उपचार, वैकल्पिक सेवाको प्रवर्द्धन, बालगृह अनुमति र अनुगमन गरी नियमन गर्दै आएको किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सहभागी फेडो नेपालका कार्यक्रम संयोजक रमेश नेपालीले बालबालिकाको हकहित, अधिकार संरक्षण तथा सवर्द्धनका लागि विशेषगरी स्थानीय तहले बालबालिकामा लगानी अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकामा लगानी गरी विशेष संरक्षणको आवश्यकता भएकालाई सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारमा सहयोग गरी संरक्षण र व्यवस्थापन गर्न अति आवश्यक रहेको समेत संयोजक नेपालीले बताउनुभएको हो ।
कालीकोट जिल्लाका प्रहरी निरीक्षक यज्ञराज जोसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका महादेव निम्न माध्यमिक बिद्यालय बालमन्दिर,लोटस एकेडेमी बोर्डिङ स्कुल, कर्णाली हट इंग्लिस बोर्डिङ स्कुल, बालविकास बोर्डिङ स्कुल गरी चार वटा बिद्यालयका शिक्षक बिद्यार्थी, जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितिमा मान्मको जिरोपइन्टबाट र्याली गरेर प्रतिमाचोकमा प्रवचन कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइको हो ।
वडादेखि पालिकासम्म बाल दिवस
यस्तै ५९ ओैँ राष्ट्रिय बाल दिवसको अबसरमा कालीकोटमा ९ वटै स्थानीय तहले पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइका छन् ।
जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर-६ मा जनचेतनामूलक देउडा प्रतियोगिता सहित राष्ट्रिय बाल दिवस मनाइएको छ ।
शुभकालिका गाउँपालिका वडा नम्बर-६ को आयोजना बालविवाह बिरूद्व साझा अभियान कालीकोटको समन्वय र मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटको सहजीकरणमा कार्यक्रम गरिएको हुरेन्डेक नेपालका लेखापाल दिनेश बोहोराले जानकारी दिनुभएको छ ।
यस्तै दिवसको अवसरमा कालीकोट जिल्लाका विभिन्न पालिका तथा वडामा विभिन्न कार्यक्रम गरि यो दिवस मनाइको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।






