कञ्चनपुर । कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन् ।
सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । ‘बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नका लागि पालो मिलाएर खटिएका छौं’, उहाँले भन्नुभयो ।
वनहरा, अनौखी, गौडी खोलालगायतका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइए पनि संलग्नहरू फेला नपरेकाले खोजीकार्य भइरहेको उहाँको भनाइ छ । चुरेक्षेत्र भएर बग्ने नदी, खोलामा अवैध उत्खनन गरिँदा बर्सेनि बाढीको समस्या बल्झिँदै आएको छ । नदी, खोला साविकको क्षेत्रमा बग्न छाडेर धार परिवर्तन गरी बस्तीतर्फ सोझिन थालेका छन् । चुरे फेदीका बेलडाँडी, पिल्लरीलगायतका बस्तीका बासिन्दाले केही वर्षयतादेखि बाढीको समस्या झेल्दै आएको सामुदायिक वनका पदाधिकारी विमला चौधरीले बताउनुभयो ।
‘वैज्ञानिक तरिकाले चुरे क्षेत्र नजिकका नदी, खोलाबाट ढुङ्गा, बालुवा, गिट्टी झिक्ने कार्य गरे समस्या हुँदैन, त्यस्तो अहिलेसम्म हुनसकेको छैन’, उहाँले भन्नुभयो, ‘अन्धाधुन्धरूपमा नदीजन्य पदार्थ झिकिँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् ।’ नदीजन्य पदार्थको अवैध दोहन रोक्नका लागि सामुदायिक वनका पदाधिकारी, उपभोक्ता खटिँदै आएको उहाँले उल्लेख गर्नुभयो । सबडिभिजन वन कार्यालय, प्रहरी र नगरपालिकासँग समन्वय गरी अवैध उत्खनन रोक्नका लागि प्रयास थालिएको उहाँको भनाइ छ । रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts