काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत््को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरेर मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्याएको हो ।
प्राधिकरणले चार सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो । प्राधिकरणका अनुसार मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब कर्णाली प्रदेशको हुम्लामात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता भई सर्वे भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय-समयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताउनुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अघि बढाइने बताउनुभयो ।
अहिले मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन् । गत वर्षको असोजमा आएको वर्षाले गमगाड साना जलविद्युत्गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका-४ स्थित विद्युत्गृहको ११ सय मिटर लामो नहरमध्ये झण्डै सात सय मिटरमा क्षति पुर्याएको थियो ।
त्यसैगरी बाढीपहिरोबाट विद्युत्गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको थियो । क्षति पुगेको नहर पुनर्निर्माण र मर्मत जलविद्युत््गृह सञ्चालनमा ल्याइएको थियो । मुगुको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो ।
लप्सीफेदीमा सबस्टेसन निर्माण नरोक्न आग्रह
सरकारले काठमाडौंको लप्सीफेदीस्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सबस्टेसन निर्माण अघि बढाउने र स्थानीयको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न कामसमेत सुरु गरिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयवासीको जायज माग सम्बोधन गर्ने विश्वास दिलाउँदै सबस्टेसन निर्माणको काम अघि बढाउन दिन आग्रह गर्नुभएको थियो ।
स्थानीयवासीको माग सम्बोधन गरिने र हालको अवस्थाभन्दा सबस्टेसन निर्माण भएपछि थप सहज जनजीवन निर्माणका लागि सरकारबाट सक्दो पहल गरिने मन्त्री बस्नेतको भनाइ थियो । उहाँले सामाजिक उत्तरदायित्व, प्रसारण लाइन प्रभावितको समस्या समाधानका लागि सरकारले नीतिगत रूपमै प्रबन्ध गर्ने र त्यसले अन्य आयोजनामा सहज वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले परिस्थितिको बाध्यतालाई बुझेर आयोजनालाई सहज रूपमा अघि बढ्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्ति गर्न लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको हो ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे, सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, शंखरापुर ३ का वडाध्यक्ष सूर्यबहादुर तामाङलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच