दुई महिनादेखि सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवन प्रभावित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म संचालनमा आएका छैनन् ।

बाढी पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक संचालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या बनेको छ । सडक पूर्ण रुपमा अवरुद्ध बन्दा खाद्यान्न आपूर्तिमा समस्या परेको छ ।

जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, बरेङ गाउँपालिका, ढोरपाटन नगरपालिका लगायत दर्जनौँ गाउँसम्म पुग्ने सडक ठप्प छन् । ठप्प सडक असोज लागे मात्रै खुल्ने छन् । त्यस बेलासम्म मान्छेलेनै बोकेर सामान ओसारपसार गर्नु पर्ने बाध्यता छ ।

करिब दुई महिना अगाडि पहिरोले अवरुद्ध भएको सडक अहिलेसम्म संचालनमा नआएको निसीखोला–१ का तुल्सीराम घर्तीले बताउनुभयो । गाउँको तल्लो क्षेत्रसम्म सडक संचालनमा रहे पनि माथिल्लो क्षेत्र पूर्ण रुपमा ठप्प भएको बताउनुहुन्छ । सडक अवरुद्ध हुँदा बुर्तिबाङ, देविस्थान लगायतका बजारबाट सामान ढुवानी गर्न नसकिएको घर्तीको भनाइ छ ।

केही दिनदेखि वर्षा रोकिएको हुँदा अब गाउँपालिकाले सडक खुलाउँने विश्वस उहाँको छ । जेठ महिनामा जोहो गरेर राखेका खाद्यान्न सबै सकिन थालेको भन्दै स्थानीयले बोकेरै बजारबाट सामान ल्याउन थालेको घर्ती बताउनुहुन्छ ।

“पहिले–पहिले यस्तो सडक थिएन, मोटर गाडी पनि गाउँमा जाँदैनथे, अहिले सडक घरै अगाडि पुगेको छ, तर बर्खामा गुड्दैनन्, बर्खामा गाडी नगुड्दा यात्रा गर्न र बजारदेखि सामान ल्याउन निकै गाह्रो हुँदो रैछ,” घर्ती मगरले भन्नुभयो, “गाउँमा बल्ल मकै पाक्दैछ, नुन, चामल सबै बजारबाट ल्याउनु पर्ने, दुई महिनासम्म बजार जान पाइएको छैन, चाडबाड पनि आउन लागे, अब बोकेरै भए पनि चाहिने सामान ल्याउनु पर्ने भयो, सडक खुल्न त अझै महिन दिन लाग्ला, त्यस बेलासम्म भोकै बस्न भएन, घरमा खानेकुरा सकिन .थाल्यो ।”

ADVERTISEMENT

जिल्लाको तमानखोला गाउँपालिकाका धेरै गाउँमा असार दोस्रो सातादेखिनै गाडी संचालन हुन सकेका छैनन् । नर्जाखानी, पात्ले, भित्रिवन, खुङ्खानी, थास्पुरी लगायतका गाउँका स्थानीय घोडा खच्चड र मान्छेलेनै बोकेर उपभोग गर्दै आएका छन् । स्थानीय मिनबहादुर सिर्पालीले गाउँमा पुग्न बोङ्गादोभान बजारदेखि चार स्थानमा खोला तर्नु पर्ने भन्दै अहिले पानीको बहाव बढ्दा समस्या भएको बताउनुभयो । एउटै खोलामा चार स्थानमा पुल आवश्यक पर्ने हुँदा अहिलेसम्म कुनै पनि ठाउँमा पुल नबन्दा समस्या भएको सिर्पाली बताउनुहुन्छ ।

“सडकले हिउँदमा त निकै सहज बनाइ दिएको छ, तर बर्खामा भने समस्या बनाउँछ, बाटो बन्द भएपछि हिँडेर बजार आउनु पर्छ, हिँडेरै फर्किनु पर्छ, पहिले-पहिले धेरै ठूलो भारी बोकेर हिँड्दा पनि गाह्रो हुँदैनथ्यो, अहिले गाडीले गर्दा बानी बिग्रिएर थोरै सामान बोक्न पनि गाह्रो पर्छ” उहाँले भन्नुभयो, “अब बर्खा सकिन लाग्यो सडक खुलाउलान्, यो बर्खाको समय त निकै सस्ती खेप्नु पर्ने, कतिबेला कहाँ पहिरोले पुर्छ भन्ने डर, कति बेला बाढीले बगाउँछ भन्ने डर ।”

बर्खा कम हुँदै गएपछि खोलामा पानीको बहाव घट्दै गएको हुँदा अब केही समयमै सडक खुलाउने प्रयास गर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । लामो समयदेखि ग्रामीण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावि भएको भन्दै भौगोलिक विकटताका कारण वर्षौँदेखि समस्या झेल्दै आएको उहाँको भनाइ छ । ग्रामीण सडकमा धेरै समस्या नभएको भन्दै खोलाका कारण यातायातका साधान संचालन हुन नसकेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “दुई वर्ष अगाडिसम्म बुर्तिबाङदेखि गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न पनि दुई वटा खोला पार गर्नु पथ्र्यो, खोलामा पुल नहुँदा यातायातका साधान ठप्प हुन्ने, अहिले त पुल बनेको छ, तर बोङ्गादोभानदेखि गाउँ-गाउँमा पुग्न, एउटै खोलाको पनि धेरै स्थानमा पुल बनाउनु पर्ने छ, पालिकाले एक्लै पुल बनाउन सक्ने क्षमता हुँदैन, माथिल्लो निकायसँग माग गरेका छौँ बिस्तारै पुल प¥यो भने सिधा यातायात संचालन हुने छन्, नागरिकले अहिलेको जस्तो दुःख पाउनु पर्ने छैन ।”

केही दिन यता वर्षा रोकिएको हुँदा खोलामा पानीको बहाव पनि कम हुँदै गएको भन्दै अब केही दिनमा सबै शाखा सडकहरु खुलाउने तयारी रहेको अध्यक्ष बुढा मगरले बताउनुभयो । वडा नम्बर २ को खोलेस्बाङ लगायत अन्य गाउँमा बाह्रै महिना सडक संचालन नहुने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?