मुस्ताङमा अहिले नै स्याउ टिप्न नपाइने : टिपेका स्याउ जफत

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । मुस्ताङी स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारीको जिल्ला मुस्ताङमा असोज एक गतेयता स्याउ टिप्न र विक्री गर्न नपाइने भएको छ ।

चाँडै स्याउ टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौ महिनासम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजार पठाउने मुस्ताङका अन्तर पालिका बैठकमा निर्णय भएको छ ।

सोही निर्णयलाई कार्यान्वय गर्न बिहीबार (हिजो) घरपझोङ गाउँपालिकाले बजारमा विक्रीका लागि राखिएको २५ केजी स्याउ जफत गरेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

“गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोमस्थित कोशेली हाउसमा विक्रीका लागि राखेको उक्त स्याउ जफत गरेको हो ” अधिकृत आचार्यले भन्नुभयो ।
उहाँका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा २ केजी दरले प्लाष्टिकमा प्याक गरिएको १० प्याकेट र १ केजीका पाँच प्याकेट स्याउ नियन्त्रणमा लिइएको हो ।

उहाँका अनुसार स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँच वटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् ।

ADVERTISEMENT

स्याउको राजधानीका रुपमा परिचित मुस्ताङमा पछिल्ला दिनमा स्याउ खेती फस्टाउँदै गएको र यहाँ इटालीयन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउ खेती हुँदैआइरहेको छ । त्यस्तै नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका विरुवा लगाइएको छ । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा लगाइएको जनाइएको छ ।

मुस्ताङको एक हजार दुइ सय बढी हेक्टर जमिनमा स्याउ खेती गरिएको शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका पद्यमनाथ आत्रेयले जानकारी दिनुभयो । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।

विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पु¥याएको इतिहास छ । मुस्ताङबाट शुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रशिद्ध गाउँ हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज