सिडिओ आफैँ जिल्ला अस्पतालको शौचालय सफा गर्न पुगेपछि…

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङ जिल्ला अस्पताल परिसर सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवम् अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य सन्त बहादुर सुनारको नेतृत्वमा शुक्रबार बिहान सरसफाई गरिएको हो ।

१८ भदौमा अस्पतालको काम, कारवाही र सेवा प्रवाह बारेमा समिक्षालय हलमा गरिएको ‘नागरिक संवाद’ कार्यक्रममा अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने कुरा उठेपछि प्रजिअ सुनार आज बिहानै ब्रस र फिनेल बोकेर शौचालयसहित अस्पताल आसपास सरसफाई गर्न पुग्नुभएको हो ।

‘नागरिक संवाद’ कार्यक्रममा अस्पतालको शौचालय सफा नहुने, नमूना परिक्षणलाई दिसापिसाब संकलन गरेपछि हात धुने साबुन तथा स्याम्पु शौचालयभित्र नपाईने गुनासो आएको थियो । यसरी गुनासो आएको चार दिनपछि छड्के गर्दैै शौचालय सफाई गर्न प्रजिअ सुनार आफैँ जानुभएको हो ।

प्रजिअ सुनार पुग्दा ‘नागरिक संवाद’मा गुनासो गरेजस्तो शौचालय थिएन । सरसफाई भएकाे रहेछ । ‘नागरिक संवाद’पछि बिहान र बेलुका नै शौचालय सफा गर्ने गरेका रहेछन् ।' समाचार स्रोतले भन्यो । 'शौचालय सफा देखिएपछि ओपिडी, आकस्मिक कक्ष र इन्डोर परिसर बाहिर झारपात उखेल्ने, प्लास्टिक, मिनिरल वाटरका बोतल, विस्कुट, चक्लेटका खोलहरु टिप्ने काम भयो ।'

सरसफाईमा प्रयोग गरिने ब्रस, फिनेल, कुचो, मास्क, पञ्जा लगायत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले व्यवस्थापन गरेको नगरका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो ।

ADVERTISEMENT

सरसफाई कार्यक्रममा प्रजिअ सुनारसहित अस्पतालका निमित्त प्रमुख एमडीजीपी डाक्टर चतुरानन्द यादव, शसस्त्र प्रहरी बल नम्बर ७ हलेसी गुल्मपति डिएसपी कृष्ण बहादुर बम, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक आचार्य लगायतको उपस्थिति थियो ।

'अस्पतलाको विषयमा त्यति धेरै गुनासोहरु बाहिर आए । तत्काल स्थायी डाक्टर ल्याउन, विज्ञ ल्याउन सकिएन । तर, सक्ने काम गर्न त कसैले छेकेको छैन नि । गर्न सक्ने काम त गर्नुपर्याे नी ।' प्रजिअ सुनारले भन्नुभयो, त्यही अनुसार आज सरसफाई गरिएको हो ।'

'सरसफाईपछि अस्पताल परिसर हेर्न लायक भएको छ । एक पटकले सरसफाई पूरा हुँदैन । तर, सुरुवात त गर्नुप-र्यो नि । बिरामीको राउण्ड लगाए जसरी अस्पतालका सम्पूर्ण शौचालयको राउण्ड लगाएर सरसफाई भए/नभएको हेर्न र अस्पतालबाट निस्कने फोहोरलाई व्यवस्थित गर्न निर्देशन दिएको छु ।' प्रजिअ सुनारले भन्नुभयो, ‘मन्त्रालयसँग स्थायी डाक्टर पठाउने कुरा पनि भयो । चाँडै पठाउने कुरा भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज