बेनी-जोमसोम-कोरला सडकको आठ खण्डको निर्माण सकियो

रासस
रासस
Read Time = 5 mins

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि सुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको हो ।

म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन रु सात अर्ब ५५ करोड लागत अनुुमान गरिएको सो योजनाका लागि आर्थिक वर्ष २०७९/०८० सम्म रु छ अर्बभन्दा बढी खर्च भइसकेको छ । योजनाका प्रमुख जगत प्रजापतिले छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुुई वटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिँदा समग्र योजनाको भौतिक प्रगति ७५ पुगेको जानकारी दिनुभयो ।

“एक सय किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएकामा मुस्ताङको थासाङ गाउँपालिका-५ को कैकुुखोलादेखि खन्ती जोड्ने १६ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ”, उहाँले भन्नुभयो, “कागबेनी-कोरलाखण्डको सातमध्ये २५ किलोमिटर दूरीमा चराङ-छोसेरबाहेक छ खण्डमा ग्राभेल गरिएको छ ।”

एक किलोमिटर तीन सय मिटर दूरीको गलेश्वर-राहुुघाटखण्डमा पूरै सडक कालोपत्रे गरिएको छ भने कैकुुखोला-खन्तीखण्डकमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको छ । तेह्र किलोमिटर लामो जोमसोम-कागबेनी सडक कालोपत्र गर्न विसं २०७८ मा ठेक्का सम्झौता गरेका ठेकेदार डेढ वर्षपछि काममा फर्किएका योजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

ADVERTISEMENT

तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ-छोसेर २५ किलोमिटर सडकमा तीन वर्षपछि ठेकेदार काममा फर्किएका छन् । ८५ प्रतिशत भौतिक प्रगति भएको यो खण्डको सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

जोमसोम-कोरला खण्डको अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेका योजना प्रमुख प्रजापतिले बताउनुभयो ।

अठार किलोमिटर दूरीको कागबेनी-ताङ्वे बज्रगुरु खड्गकृष्ण जेभी, ११ किलोमिटर ताङ्वे-चैलेको दिवाडाफे एपेक्स जेभी, ११ किलोमिटर दूरीको चैले-भेनाको कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र १२ किलोमिटर भेना-झैते सडक कञ्चनजङ्गा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए ।

झैते-चराङ १९ किलोमिटर कञ्चनजङ्गा लामा मोतीदान जेभी र छोसेर-कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । तेह्र किलोमिटर दूरीको मालढुङ्गा-बेनी खण्डको ४२, तीन किलोमिटर दूरीको बेनी-गलेश्वर खण्डको ८५ प्रतिशत, राहुघाट-नारच्याङ पुल खण्डको ८५ प्रतिशत, नारच्याङपुल-घाँसा खण्डको ६० प्रतिशत प्रगति भएको छ । म्याग्दीको राहुघाटदेखि मुस्ताङको घाँसा खण्डको सडक पहिरोले असर पारको छ ।

योजनामार्फत आठ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । बाह्र वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । यस सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज