आमाको मृत्यु भएपछि तीन बालकको विचल्ली

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटमा घाँस काट्ने क्रममा भीरबाट लडेर आमाको मृत्यु भएपछि तीन बालकको विचल्ली भएको छ । नरहरिनाथ गाउँपालिका-८ निवासी दीर्घ विष्टकी श्रीमती ३४ वर्षीया धनसरा विष्टको भदौ १४ गते गाउँ नजिकैको वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएपछि उहाँका तीन छोराहरूको विचल्ली भएको हो ।

१२ वर्षको उमेरमा आमा बुवा गुमाएका दीर्घ विष्ट आफन्तको शरणमा हुर्केर घरजमसमेत भयो । त्यसपछि विवाह गरे बालबच्चासमेत भए । बिहान खाए बेलुका के खाऊँ ? भन्ने अवस्थाका दीर्घ विष्ट रोजगारीको लागि भारत जान थाल्नुभयो । रोजगारीको लागि लामो समयसम्म भारतमा काम गरे पनि उहाँले आफू बस्ने घरसमेत बनाउन सक्नुभएन । पुरानो आफ्नो बुवाले बनाएकै जीर्ण घरमा बस्दै आउनुभएको छ ।

भदौ १४ गते गाउँ नजिकैको वनमा घाँस काट्ने क्रममा उहाँकी श्रीमतीको लडेर मृत्यु भएपछि उहाँ जन्मघर लालु फर्किनुभयो । उहाँले तीन वर्षकोे कान्छो छोरा काखमा राख्दै आँखामा आँसु टिलपिल गर्दै भन्नुभयो, ‘म त दुःखमै हुर्किएँ सुख कस्तो हुन्छ यो जुनीमा थाहा पाइनँ मेरो सन्तानले पनि सुख कस्तो हुन्छ भोग्न नपाउने भए ।’ उहाँले अगाडि भन्नुभयो, ‘मलाई जन्माउने आमा बुवा कस्ता थिए मुख देख्न पाइनँ आफन्तको घरमा बसेर हुर्किएँ । पढ्न त के बाँच्नसमेत नसक्ने अवस्थामा आफन्तले पाले । अहिलेसम्म दुःखमै जीवन काटिरहेको छु । मेरो सन्तानले पनि मजस्तै दुःख पाउने भए ।’

ADVERTISEMENT

उही जीर्ण घरको खरको छानामाथि त्रिपालले ढाकेको छ । वर्षाको पानी घरभित्रै चुहिने भएकाले पालले ढाकिएको छ । उहाँलाई तीन छोरालाई कसरी पाल्ने ? भन्ने चिन्ताले सताएको छ ।

उहाँले अर्को पीडा पनि सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘जहान परिवार पाल्न भनेर भारतको गुटुमा गएँ त्यहाँ ६ महिना काम गरेँ ठेकेदारले पैसा दिएन । यता, श्रीमतीको मृत्यु भएको खबर आयो । उता, ठेकेदारले ज्याला दिएन । रित्तो हात घर फर्किएँ ।’ अहिले गाउँका स्थानीयले मृतक धनसराको काज किरियाको लागि गाउँमा आर्थिक सहयोग जुटाइरहेका छन् ।

किराया गर्नसमेत नसक्ने कमजोर अवस्थाका दीर्घ विष्टका टुहुरा तीन छोराको संघ संस्था र सरकारलाई व्यवस्थापन गर्न स्थानीयवासी तथा एनएमबि बैंक कालीकोट शाखाका प्रबन्धक रोहनकुमार विष्टले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?