मासिँदै संरचना, नासिँदै सम्पदा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङमा सयौँ वर्ष पुराना थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन् । त्यस मध्ये केही अझै जिवितै छन् त केहीको भग्नावशेष मात्रै फेला पर्छन् । संरक्षणमा सरोकारवाला निकायको ध्यान नुग्दा अहिले निकै महत्वपूर्ण मानिने संरचनाहरु गुमनाम बन्दै गएका छन् । त्यस मध्ये जिल्लाको जैमिनी धामसँग जोडिएर पालिकाको नामाकरण भएको यहाँ १८ औं सदाब्दीको मन्दिर ‘थन्थापमाई’ पनि गुमनामको अवस्थामा पुगेको छ ।

जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीयले गुनासो गरेका छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका—१० राङ्खानी, वडा नम्बर ७ को जैदी र वडा नम्बर ४ सर्कुवाको सिमा क्षेत्रमा अवस्थीत रहेको थन्थापमाई मन्दिर बागलुङकै ऐतिहासिक धरोहर मध्येको एक भए पनि उचित संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
जंगलको बीचमा रहेको मन्दिरमा रहेका महत्वपूर्ण घण्ट तथा कलात्मक बस्तुहरु समेत हराई सकेको स्थानीयको भनाई छ । जैमिनी—१० राङ्खानी पाहीका टिकाराम शर्मा आचार्यका अनुसार २०/२५ वर्ष अघि यहाँको घण्ट, मन्दिर तथा विभिन्न आकृतिका धातुहरु चोरी भएपछि स्थानीयकै पहलमा काँडेतार लगाएर सुरक्षित गरिएको छ ।

“मन्दिरको गुठीको नाममा रहेको थुप्रै खेत छ, त्यसको कुनै खबर छैन, द्वन्द्वकालदेखि कस्ले कमाएको छ अत्तोपत्तो छैन, कति जग्गा मासिएको होला, मैले सुने अनुसार यहाँको घण्ट समेत चोरी भएको थियो” आचार्यले भन्नुभयो, “पहिला संरक्षण भएको थिएन, अहिले केही मर्मत संभार समेत भएको छ, जैमिनी नगरपालिकाले समेत २० लाख लागनी गरिसकेको छ, चुहिँने छानो अहिले तामाले छाइएको छ तर समस्या भक्तालु घटेकाछन्, हामीलाई प्रचार प्रसारको खाँचो छ ।”

जंगलभित्र मन्दिर भएका कारण शान्त वाताबरणम छ भने हरीयाली डाँडो धार्मिक पर्यटकीय गन्तव्य बन्ने भएपनि पछिल्लो समय मन्दिरको चर्चा सेलाउदै गएको स्थानीयको भनाई छ । भगवतीको मन्दिर भएकाले शक्तिसंग जोडिएको छ । त्यहाँ पूजा अर्चना गर्नाले आफुले चाहेको पूरा हुने विश्वासका साथ मानिसहरु त्यहाँ पुग्छन् । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन र प्रचार प्रसारको अभावमा यो मन्दिर अहिले ओझेलमा छ ।

बागलुङ दक्षिण भेगको महत्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको १८ औं शताब्दीमा स्थापना गरिएको मन्दिरको सम्भावना उजागर गर्नका लागि सरोकार निकायले ध्यान दिनुपर्ने स्थानीय लिलबहादुर रानाले बताउनुभयो ।

“केही नगरेको भने हैन, पदमार्ग, तारबार र खानेपानी लगाएको संरचना छन् तर पहिला टाढा–टाढाबाट भक्तजनहरु आउने गरेका थिए तर सवारी साधनहरुको पहुँच हुँदा समेत कम भक्तजनहरु आउन थाले, प्रचार प्रसारकै अभाव देखियो, नयाँ–नयाँ मठ मन्दिरमा अहिले दर्शनार्थीहरु पुग्छन् तर ऐतिहासिक शक्ति संग जोडिएको मन्दिर अहिले कुना परेको छ” रानाले भन्नुभयो “मन्दिरको मर्मत संभार भएपनि जिर्णोद्वार गर्ने र प्रचार प्रसारको काम बाँकी छ, जैमिनी नगरपालिकाले अझै यसमा धेरै काम गर्न आवश्यक छ ।”

ADVERTISEMENT

उक्त थन्थाप भवगती माईको मन्दिरमा हरेक मंगलबार विशेष पूजाआजा हुन्छ । बडा दशैं, चैते दशैं लगायतका विशेष समयमा त त्यहाँ पुग्ने दर्शनार्थीहरु घुइँचो नै लाग्ने गरेपनि क्रमश यसको महत्व बढ्दै जानुमा घट्दै गएको स्थानीयको भनाई छ ।
पटक–पटक मन्दिर जिर्णोद्वार गरेर अहिलेको अवस्थामा ल्याईएको र यसको स्थापनाको ठ्याक्कै एकिन नभएपनि १८ औं सताब्दी लेखिएको ताम्रापत्र भेटिएको छ । विक्रम संवत १८६५ लेखिएको ताम्रपत्र भेटिएको उहाँले जानकारी दिनुभयो ।

भुरे टाकुरे राजाको पालामा युद्धहरु धेरै नै हुने भएकाले शक्ति स्वरुपा भगवतीको मन्दिर त्यही बेला स्थापना भएको हुनसक्ने राना बताउनुहुन्छ । भगवतीको पूजा गर्नाले आँटेको पुग्ने र शक्ति स्वरुपा भएकाले उनको भाकलबाट युद्ध जितिने विश्वास रहेकाले भुरे टाकुरे राजाले नै यहाँ यो मन्दिर स्थापना गरेको स्थानीयको अनुमान छ ।

यहाँको हाँडिकोट, पुरानो गाउँ लगायतका ठाउँमा पहिले राजा रहेको भन्ने एथेष्ट प्रमाण र पुरातत्व सामाग्रीबाट प्रमाणीत भइसकेको छ । उक्त मन्दिरमा परेवा र बोकाका मात्र बली दिईन्छ । पछिल्ला दिनहरुमा जैमिनी नगरपालिका क्षेत्रबाट बसाइँ सरेर जानेहरुको संख्या बढी भएकाले मन्दिरमा आउनेहरुको संख्या कम हुँदै गएको हो ।

मन्दिरको नाममा अर्जेवा, जैदी, बिनामारेमा गुठीका जग्गा भएको भन्ने सुनेपनि अहिले जग्गाको अत्तोपत्तो छैन । ऐतिहासिक पक्षसंग जोडिएकाले थन्थापी भगवतीको मन्दिरको विकास र प्रचार प्रसारका लागि जैमिनी नगरपालिकाले विशेष चासो दिएको उपप्रमुख हरिहर शर्माले बतानुभयो ।

“अहिलेसम्म नगरपालिकासहित विभिन्न निकायहरुबाट मन्दिरको संरक्षण र प्रर्बद्धनमा रु. ७० लाख खर्च भइसकेको छ, यहाँको पुरानो योजनालाई विकसित गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हामी लागेका” शर्माले भन्नुभयो “गुठीको विषयमा जुन जग्गाको कुरा छ त्यो मालपोतले हेर्ने हो पालिकाले हेर्न मिल्दैन, हामीले धार्मिक पर्यटकीय गन्तव्य बनाउन कुनै कसर बाँकी राख्देनौं ।” शर्माले थन्थापमाई, कोत घर जहाँ तोप समेत छ दुवैलाई एकैपटक विकास गर्नेगरी योजना बनाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज