भोजपुर । भोजपुरको टक्सारको भाषा धर्म र संस्कार संस्कृति संरक्षणको लागि प्रत्येक वर्ष लाग्दै आएको श्रीकृष्ण जन्माष्टमी मेला यस बर्ष पनि सुरु भएको छ ।
बुधवारबाट भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले शुभारम्भ गरेसँगै मेला सुरु भएको हो । टक्सारमा भाद्र २० र २१ गते दुई दिन मेला लाग्ने छ ।
टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार भएकाले यस बर्ष पनि भोजपुर नगरपालिका वडा नम्वर १२ को आयोजनामा मेला सुरु भएको वडाध्यक्ष देवी प्रसाद कार्कीले बताउनुभयो ।
१८७२ सालमा गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार बजार धर्मिकसँगै धातु ब्यवसायका लागि पनि त्यतिकै प्रख्यात मानिन्छ ।
टक्सार बजारलाई ‘मिनी पाटन’ को नामले समेत चिनिने गरिएको स्थानीयवासी चन्द्र कुमार उदासले बताउनुभयो । यहाँ उपत्यकाको नेवारी सहर पाटनको स्वरूपमा सहर विकास गरिएको थियो ।
यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बा, गणेश मन्दिर, शाक्यमुनी बौद्ध बिहार लगायतका दर्जनौ धार्मिक स्थलहरु रहेका छन । सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजार पछिल्लो समय जीर्ण बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाई छ ।
‘धार्मिक पर्यटन प्रवर्धनको लागि ऐतिहासिक टक्सार बजार जाऔं’ भन्ने नाराका साथ आयोजना भएको मेलामा बिभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, बिभिन्न समुहहरुको लाखे नाच प्रर्दशन, श्रीकृष्ण रथयात्रा, खेलकुद जस्ता कार्यक्रमहरु हुने छ ।
मेलाका अवसरमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि भोजपुरले रक्तचाप परिक्षण तथा जुस बितरण समेत गरेको छ । मेलामा आउने नागरिकहरुको रक्तचाप निशुल्करुपमा परिक्षण गरिएको युवा संघ नगर कमिटि अध्यक्ष दिपेन दर्नालले बताउनुभयो ।
मेला उद्घाटन कार्यक्रममा जिल्ला न्यायाधिश मणिराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुख, सरकारी कर्मचारी, जनप्रनिनिधी, पत्रकार लगायतको पनि सहभागिता रहेको थियो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजार लगायतका ठाउँहरुमा रथयात्रा समेत निकाल्ने परम्परा रहदै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts