नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतको मन्त्रिपरिषद्बाट अनुमोदन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित भएको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले यसबारे जानकारी दिँदै नेपालको विद्युत् विकासमा नयाँ रोडम्याप तयार हुने बताउनुभएको हो । ‘भारतको मन्त्रिपरिषद्ले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वीकृतिले २०७२ सालमा विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको छ’, शर्माले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भनेर गरेको घोषणा तीन महिनापछि कार्यान्वयन चरणमा लगेको हो । गत जेठमा भएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गर्नुभएको थियो । जेठ १८ गते प्रचण्डसहितको संयुक्त पत्रकार सम्मेलनमा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिकतामा राखेको थियो । यसमध्ये नेपालले आगामी २५ वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता नै गर्न चाहेको थियो ।

तर, नेपालको बिजुलीले दीर्घकालीन रूपमा भारतीय बजार खुल्ने विषयमा भने सम्झौता भएन । यद्यपि, प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गर्नुभएको थियो । यसबारे सम्झौतापत्रमा हस्ताक्षर नभए पनि संयुक्त वक्तव्यमा बिजुली किन्ने विषय समेटिएकाले त्यतिबेला नै सकारात्मक रूपमा लिइएको थियो । यतिबेला नेपाल वर्षायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनिसकेको छ । ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई उत्पादन सुरु भएपछि नेपाल वर्षायाममा आत्मनिर्भर बनेको हो ।

ADVERTISEMENT

सुक्खायाममा हालसम्म भारतसँगै निर्भर बन्नुपरे पनि आगामी दुई/तीन वर्षमा आत्मनिर्भर बन्ने नेपाल विद्युत् प्राधिकरणको आँकलन छ । यस्तो अवस्थामा हाल नेपालको राष्ट्रिय प्रसारण लाइनमा २७ सय मेगावाट बिजुली जोडिएको छ । यसमध्ये नेपालको सरदर खपत १५ सय मेगावाट हुन्छ । यस्तै, भारतले ४५३ मेगावाट बिजुली लग्न गत वर्षदेखि नै बाटो खोलिसकेको छ । तर, प्रत्येक वर्ष उक्त परिणामको बिजुली बेच्न अनुमति लिइरहनु पर्छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली पक्षले दीर्घकालीन सम्झौताको चाहना राखेको थियो । तर, नेपाली पक्षले मुख्य एजेण्डा बनाएको दीर्घकालीन सम्झौतामा भारतीय प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेर हाल आएर कार्यान्वयन तहमा लगेको हो ।

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने
उता, बंगलादेशले पनि नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिनेछ । दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षणस्वरूप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेशबीच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?