हावाहुरीले लाखौँको मकै बाली नष्ट

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा ठूलो क्षति पुर्याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो ।

वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मर लगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिनुभयो । शनिबार राती र आइतबार विहान आएको हुरीले मकै बालीमा क्षति पुगेको पराजुलीको भनाइ छ ।

७०० रोपनीमा लगाएको मकै कामै नलाग्ने गरि ढलेपछि किसानले ५० लाखभन्दा बढीको क्षति व्यहोर्नु परेको पराजुलीको बताउनुभयो । किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकहरुको टोली बारीमै पुगेर क्षतिको विवरण लिएको उहाँको भनाइ छ । मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पुर्याएको उहाँले बताउनुभयो । दाना लाग्ने बेलामा मकै ढलेको हुँदा अब फल नदिने शाखा प्रमुख पराजुली बताउनुहुन्छ ।

‘किसानको बारीमा पुग्दा कुनै पनि मकैका बोट ठाडो देखिदैनन्, सबै ढलेर कामै नलाग्ने भएका छन्, अब ति ढलेका मकैका बोटबाट किसानले एउटा गेडा पनि उत्पादन गर्न सक्ने अवस्था छैन, गेडा हालि सकेको भए, केही उत्पादन हुने संभावना हुन्थ्यो, अहिले ठ्याक्क घोँगामा गेठा हाल्ने समय भएको थियो’ शाखा प्रमुख पराजुलीले भन्नुभयो, ‘अहिले प्रारम्भीक विवरण लिएका छौँ, प्रारम्भीक विवरणमा करिब ५० लाख नोक्सानी भएको अनुमान छ, केही दिनमै पुरै विवरण आउँने छ, त्यसमा अलि बढ्ने संभावना देखिन्छ, किसानहरूले धेरै ठाउँमा मकै ढलेको जानकारी गराउनु भएको छ ।’

उहाँले अहिलेसम्म यहाँका किसानले कृषि बीमा नगरेको बताउनुभयो । बीमा गरेको भए केही सौलियत मिल्ने पराजुलीको भनाइ छ । यस वर्षदेखि किसानलाई कृषि बीमाको दायरामा ल्याउने तयारी गरहेको उहाँ बताउनुहुन्छ । यहाँका अधिकांश किसानले रैथाने जातका मकै लगाएको पराजुलीले बताउनुभयो ।

ADVERTISEMENT

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पु¥याएको बताउनुभयो । किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सबै वडामा प्राबिधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोही अनुसार राहतका बारेमा प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने बताउनुभयो ।

‘हावाहुरीले किसानले लगाएको मकै बालीमा ठूलो क्षति पुगेको छ, फल्ने बेलाको मकै ढलेर सोत्तर बनेपछि किसानका आँखा आँशुले भरिएका छन्, उहाँहरुको त्यो पीडामा मलम लगाउने प्रयास हामी गर्ने छौं’ अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘अहिले सामान्य विवरण आएको छ, सबै विवरण आएपछि कुन किसनाको कति क्षति भएको छ, त्यस आधारमा पालिकाबाट हुने राहतको व्यवस्था गर्छौँ र अन्य नियकाबाट हुने सहयोगका बारेमा पनि हामी पहल गछौँ ।’

वर्षा र हावाहुरीले मकैका सबै बोट भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन् । जिल्लाको मुख्य खाद्य बालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको छ । तमानखोलाको मकै जोन क्षेत्र भए पनि अघिल्लो वर्ष मकैको बिउ फरक पर्दा उत्पादनमा निकै गिरावट आएको थियो । यसपालीको हुरीले वर्षभरीको छाक खोसि दिएको स्थानीय किसान खिमबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पोहोर परार साल बारीमा राम्रो मकै उत्पादन हुन्थ्यो र पनि वर्षभरी खान पुग्दैनथ्यो, अहिले त एक पाथी पनि फल्न नपाउँदै हुरीले मकै बारी भरी लडाइ दियो, एउटा पनि बारीको मकै ठाडो छैन, सबै ढलेका छन्, कति दुःख गरेर खेती गरेको, एकै छिनको हावा हुरीले यस्तो बनाइ दियो, अब के खाएर वर्ष गुर्जाने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज