ट्रयाक खुलेको २९ बर्षपछि सडक स्तरोन्नतिले गति लियो

यात्राको सकस अन्त्य हुने सुर्खेतवासीको आस

Read Time = 9 mins

सुर्खेत । ट्रयाक खुलेको २९ बर्षपछि सडक स्तरोन्नतिले गति लिदाँ पश्चिम सुर्खेतवासी खुसी भएका छन् । बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ बर्षपछि धमाधम स्तरोन्नति हुनथालेपछि यहाँका स्थानीय अब यात्राको सकस अन्त्य हुने आशामा छन् ।

ट्रयाक खुलेको तीन दशकसम्म सडक स्तरोन्नति र खोलामा पुल नबन्दा यात्रुहरूले सास्ती भोग्दै आइरहेका छन् । यो सडकको ट्रयाक २०५१ सालमा खोलिएको हो । तर लामो समयसम्म सडक स्तरोन्नति नहुदाँ पश्चिम सुर्खेत आउजाउ गर्न निकै सकस छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरी हाल तिब्र गतिले काम भइरहेको छ । तीन खण्डमध्ये बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्डको निर्माण सम्झौता भइ तिब्र गतिले काम भइरहेको छ । भने खम्बागाडे–विद्यापुर सडक खण्डको काम सुरु हुदैछ ।

राजमार्गको तीन वटा सडक खण्डमध्ये दुई वटा खण्डमा मदन भण्डारी राजमार्गले र एक खण्डमा कर्णली प्रदेश सरकारले काम गर्दैछ । यस्तै बाँकी खण्ड बल्देदेखि लगामसम्मको आइइइ स्विकृत भइसकेको छ । भने लगामदेखि कर्णाली सडक खण्डको आइइइ स्विकृतको चरणमा छ । यी सडक खण्ड निर्माणमा जग्गाको भुअधिकार र रुख कटान आदेश मुख्य समस्या बनेका थिए । तर समस्या समाधानका लागि प्रक्रिया अघि बढेकाले अब सहज हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय, सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुहुन्छ ।

उहाँका अनुसार सडक निर्माणमा पश्चिम सुर्खेतवासीदेखि जनप्रतिनिधिहरुको समेत साथ रहेकाले अब सम्झौता मितिभित्रै सडक निर्माण हुनेछन् । यस्तै जग्गा मुअब्जाको लागि घर टहराको लगत लिने काम भइरहेको उहाँले बताउनुभयो ।

हाल तीन वटै सडक खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लगायतका काम सम्पन्न भइसकेका छन् । मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले १४ जिल्लालाई छुन्छ । यो राजमार्गले नेपालको पूर्वदेखि पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

बड्डीचौर–खम्बागाडे खण्ड

मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौरदेखि खम्बागाडेसम्म सडक खण्डको लम्बाई १३ किलो मिटर छ । हाल यो सडक खण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको छ ।

यसै खण्डमा तीन वटा मोटरेबल पुल निर्माण सम्झौता भइ अघि बढेका छन् । पुन निर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र छ । तर समयमा रूख कटान आदेश नआउदाँ काममा ढिलाइ हुने गरेको छ ।

यो सडक खण्ड निर्माणका लागि कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ठेक्का व्यवस्थापन गरेको हो । जसका लागि कर्णाली सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । यो खण्ड निर्माणका लागि अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

खम्बागाडे–विद्यापुर खण्ड

ADVERTISEMENT

खम्बागाडेदेखि विद्यापुरसम्मको १० किलो मिटर सडक खण्ड हो । तर हाल यो सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गरिदैछ ।

यो सडक खण्डको बहुबर्षिय स्रोत सुनिश्चितता लागि प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुभयो । डीपीआर निर्माणपछि आइइइ स्विकृत भएर रुख कटान आदेशको फाईल समेत अघि बढाइएकोले छिट्टै काम सुरु हुने उहाँको भनाइ छ ।

विद्यापुर–बल्दे खण्ड

विद्यापुरदेखि बल्देसम्मको सडक खण्ड २२ किलोमिटर छ । यो सडक खण्ड ठेक्का व्यवस्थापन भई हाल निर्माणको काम तिब्र गतिमा भइरहेको छ । यो सडक खण्डको आइइइ स्विकृत भइसकेको छ । यस खण्डमा पर्ने रुखको लगत लिइ कटान आदेशका लागि वन मन्त्रालयमा फाईल पठाएर क्याविनेटबाट स्किृत गर्ने तयारी छ ।

२२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ ।

काम सुरु भएको दुई महिनाको अवधिमा करिब सात प्रतिशत सम्पन्न भएको छ । हाल भइरहेको कामको रप्तारलाई हेर्नेहो भने यो सडक खण्डको काम तोकिएकै मितिमा हुने निश्चित देखिन्छ । राजमार्गको जंगल क्षेत्रमा पर्ने रुखको कटानका लागि पनि प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । यो सडक खण्डमा आधाभन्दा बढी जंगल क्षेत्र पर्छ ।
राजमार्ग क्षेत्रमा पर्ने रुखहरू कटान आदेश नआएकाले हाले सडकको बीचबीचमा रुख छोडेर काम भइरहेको छ । सडक आयोजना अन्तर्गत ट्रयाक खोल्ने र चौडा बनाउने काम भइरहेको छ । नाला, पर्खाल, कल्भर्टजस्ता काम धमाधम चलिरहेका छन् । वन क्षेत्रमा पर्ने ठाउँमा समेत रुख छोडेर काम अघि बढाइएको छ । रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने आयोजना कार्यालयले जनाइएको छ ।

कामको रफ्तार देख्दा गुनासो गर्ने ठाउँ छैन : मन्त्री चपाई

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका सडक खण्ड निर्माणको काम देख्दा गुनासो गर्ने ठाउँ नभएको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले बताइन् । सडकको अनुगमन गर्दै मन्त्री चपाईंले सडक सास्तीले आजित बनेका पश्चिमवासीका लागि अब दुःखका दिन धेरै नभएको तर्क गर्नुभयो ।

‘अनेक समस्याकाबिच पनि कामको रप्तार देख्दा निकै खुसी लाग्यो । अहिले ठेकेदारप्रति गुनासो गर्ने ठाउँ छैन’ मन्त्री चपाईले भन्नुभयो, ‘यी सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सबैले सहयोग गरौं । मैले पनि आफ्नो तवरबाट आवश्यक सबै भुमिका खेल्नेछु ।’

काम गुणस्तरीय तथा समयमै सम्पन्न गर्न निर्देशन दिदै रुख कटानका लागि रोकिएका काम छिट्टै सुचारु गर्न आवश्यक पहल गर्ने मन्त्री चपाईले आवश्वासन दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज