म गाईसाहुको नाति !

डा. नारायण चालिसे
डा. नारायण चालिसे
Read Time = 20 mins

समय सङ्गीन छ । यो समय यी कुरा गर्न मिल्ने समय हो कि होइन म भन्न सक्दिन । सामान्य घटनाले विशेष-विशेष रूप लिन सक्छ । विशेष कुरा पनि सामान्य सरह भइदिन सक्छ । मुलुकमा अहिले गाईको विषय निकै पेचिलो बनेर आएको छ । यही विषयले मनमा तरङ्ग उठाइदिएकाले जेजस्तो परेपनि आज म गाईकै विषयमा कुरा गर्छु । गाई शान्त प्रकृतिको सुधो प्राणी मानिन्छ । गाईको स्वभाव र गुणलाई पहिचान गर्नेहरूले गाईको महत्वलाई आआफ्नै ढङ्गले व्याख्या गर्दै आएका छन् ।

सन्दर्भ गाईको रहेकाले र सनातनी भएकाले पनि म गाईलाई सम्मान गर्छु तर गाईका विषयमा त्यो गहकिलो ज्ञान दिन यो कुरा गरिरहेको छैन । म त्यस्तो ज्ञान दिनसक्ने आधिकारिक व्यक्ति पनि होइन । धेरै महिमा रहेको गाईलाई आजको चर्चा विषय बनाइरहँदा मेरो वंशपरम्परासँग जोडिएको एउटा अत्यन्त सान्दर्भिक कुरा आज मेरो सम्झनामा आएको छ ।

हाम्रा बाजेहरूलाई गाईसाहु भन्थे । गाउँमा अहिले पनि हामीलाई गाईसाहु भन्छन् । हामीलाई सानोमा गाईसाहु भनेको त्यति मन पर्दैनथ्यो । यो शब्दको सबै भाव र स्वभाव बुझेर त होइन तर यति हो गाईसाहु भनेको त्यति ठूलो पदवी होइन भन्ने हामीलाई लाग्दथ्यो । त्यस्तै हामीलाई सम्मान गर्न यसो भनिएको नभएर होच्याउन पो यसो भनिएको हो कि ? भन्ने लाग्थ्यो । साहु महाजन भन्ने शब्द हिजोहिजो निकै प्रिय थिए अब छैनन् । साहु हुन आममानिसभन्दा फरक हुनुपथ्र्यो । खासगरी आर्थिक हैसियत बलियो अनि समाजमा प्रभाव पनि बढी हुनुपथ्र्यो । हामी सामाजिक क्षेत्रमा सम्मानित जीवन त बाँचेका थियौं तर हाम्रो जीवनशैली तडकभडक बिनाको सरल किसिमको थियो ।

हामीले सुने अनुसार हाम्रा गोठमा सयौँका संख्यामा गाईहरू हुन्थे अरे । हाम्रा हजुरबाहरू गाईकै सेवामा सधैँ तल्लीन हुनुहुन्थ्यो अरे । हाम्राजति कसैका पनि गाई नभएकाले स्थानीय स्तरमा हामीलाई गाईसाहुहरू भनेर सम्मान गरिन्थ्यो । हामी साना छउन्जेल पनि हाम्रा गोठमा दश-बीसवटा गाईहरू हुन्थे । 

गाउँमा हामीलाई मानसम्मान पनि थियो, आर्थिक हैसियत पनि औसत नागरिकको भन्दा सन्तोषजनक थियो तर हामीसँग अहङ्कारयुक्त जीवनशैली कत्ति पनि थिएन । साहु हुन सायद अलिकति धाक, अलिकति रबाफ, अलिकति हैकम, अलिकति फूर्तिफार्ति पनि चाहिन्छ । हामीले सुनेका साहुमहाजनका कथाहरूमा वर्णित साहुको चरित्र पनि केही भिन्न हुन्थ्यो तर हामीमाथि भनिएकाजस्ता साहु पटक्कै थिएनौँ । त्यसैले हामीसँग कोही डराउँदैनथे, हामीले पनि कसैलाई डराउन दिँदैनथ्यौँ । यति भएर पनि हामी साहु त साहु नै थियौँ । यसरी आफैँप्रति आफैँलाई पनि भरोसा नभएको पदवी बोकेर हिँड्न सायद हामी सहमत थिएनौँ त्यसैले पनि हामीलाई हाम्रो साहुगिरीमा भरोसा थिएन ।

हामीले हाम्रो नजिकै रोहोटेका साहुबाहरूलाई देखेका थियौँ उहाँहरू साहु हुनुकै विभिन्न कारणले समाजमा सुपरिचित हुनुहुन्थ्यो । उहाँहरूको इमेज देखेर हामीलाई पनि साहुकारीप्रति सायद नजानिँदो लोभ थियो । तर हामी साहुबाहरू जस्ता साहु थिएनौँ । त्यसैले साहु भनेका रोहोटेकै साहुबाहरू हुन् हामी त गाईसाहु भनेर आफूहरूलाई दोस्रो दर्जाकै साहु भएको अनुभूति हुनाले पनि हामीलाई गाईसाहु भन्ने शब्द मन पर्दैनथ्यो । गाईको साहु पनि केको साहु ? हामीले जान्दा न त्यतिविधि गाईहरू थिए न त्यस्तो साहुपन थियो । हामी कतैबाट पनि साहुजस्ता लाग्दैनथ्यौँ । हुन त साहु हुन के कुरा चाहिन्छ भन्ने पनि जानकारी थिएन तर जसलाई हामीले साहु भनेर चिनेका थियौँ । रोहोटेका साहुबाहरू र हाम्रो जीवनचर्या फरक थियो ।

उहाँहरू खोइ के कुराले हो साहुजस्तै देखिनुहुन्थ्यो हामी त्यस्तो देखिँदैनथ्यौँ । साहुबाहरू हाम्रा नजिकका दाजुभाइहरू हुनुहुन्छ । सम्बन्धमा कतिजना हजुरबा तहका, कति बुवा तहका र कति दाइभाइ हुनुहुन्थ्यो । हाम्रा समकालीनहरू साहु खलक र हामीमै पनि केही न केही फरक हो कि जस्तो हामीलाई लाग्थ्यो । यद्यपि साहुबाहरूकहाँ पनि पुरानो साहुपनको सुगन्ध र गरिमा सायद केही घटेकै थियो तापनि उहाँहरू हिँङ बाँधेको टालो हुनुहुन्थ्यो । हाम्रा लागि र समाजका लागि त्यही पनि काफी थियो ।

हाम्रा पिताजी पण्डित हुनुहुन्थ्यो । त्यसैले हाम्रो घरमा सकेसम्म पण्डितका घरको विधि र व्यवहार चल्थ्यो । बिहान सबेरै उठेर स्नानसन्ध्या पाठपूजा गर्नु, सोही अनुरूपको पहिरन पोशाक, भोजनपानी हाम्रा दिनचर्या थिए । हामीले सुनेअनुसार हाम्रा गोठमा सयौँका संख्यामा गाईहरू हुन्थे अरे । हाम्रा हजुरबाहरू गाईकै सेवामा सधैँ तल्लीन हुनुहुन्थ्यो अरे । हाम्राजति कसैका पनि गाई नभएकाले स्थानीयस्तरमा हामीलाई गाईसाहुहरू भनेर सम्मान गरिन्थ्यो । यो सम्मान कुनै सरकारी स्तरको कुनै उपाधि थिएन । हामी साना छउन्जेल पनि हाम्रा गोठमा दश–बीसवटा गाईहरू हुन्थे । हामी पनि सानोमा विदाको दिन गाई चराउन नजिकैको गौचरनमा जान्थ्यौँ ।

हाम्रा पिताजी निकै धैर्यपूर्वक घण्टौँसम्म बाटाको छेउछाउ गाई चराउन सक्नुहुन्थ्यो । साँझ टन्न अघाएका वस्तुभाउ लिएर घर फर्किनुहुन्थ्यो हामी आत्तिन्थ्यौँ गाई खेद्दै बेलबगरतिर हुइँकिन्थ्यौँ अनि साँझ भोका वस्तु लिएर घर फर्किन्थ्यौँ । एउटा विशेषता अवश्य थियो हामीमा रोहोटेका साहुबाका घरपरिवारपछि हाम्रो गाउँमा पढेलेखेको हाम्रै घर थियो । पिताजीको शिक्षाप्रतिको अगाध आस्थाका कारणले अरू धेरै कुरा गुमाएर पनि पिताजीले हामीलाई पढाइलेखाइमा लगाउनुभयो । आफू स्वयम् पण्डित अनि गुरुकुलका अध्यापक भएका कारणले हरेक मूल्य चुकाएर पनि हामीलाई पढाउने अठोट गर्नुभएका कारणले एउटा समय यस्तो आयो हाम्रो घरपरिवार त्यसक्षेत्रको शिक्षित परिवारमा दरिन पुग्यो ।

ADVERTISEMENT

हामी सबै भाइ शिक्षित भयौँ, जागिरे भयौँ क्रमशः पेशा, सेवाप्रतिको निष्ठा, प्रतिबद्धता र निरन्तरताका कारण राष्ट्रको विशिष्ट श्रेणीको राष्ट्रसेवक बन्ने अवसर पायौँ । यी सबैका पछाडि गाईसाहु बाउबाजेको असीम आशीर्वाद हामीलाई प्राप्त भएको छ तर हामीलाई कहिल्यै पनि साहुको अहङ्कार आएन । अहङ्कार नआएको कुराभन्दा पनि महत्त्वपूर्ण त्यो बालसुलभ चेतना हो जसले जीवनको कुनै कालखण्डमा पनि आफूलाई अरू नागरिकभन्दा फरक नदेख्ने समभाव र समदृष्टि हो । अहिले पनि हामीमा त्यस प्रकारको प्रभुत्व चेतना कहीँ कतै छैन । आफूलाई प्रकट गर्ने महत्वाकाङ्क्षा छैन अरूलाई अपमान गर्ने अहङ्कार छैन । प्रत्येक व्यक्तिभित्र रहेको कुनै न कुनै प्रकारको विशेष क्षमता र गुणको कदर गर्ने भावना छ । भनिन्छ नि लो प्रोफाइलमा रहेर सबैका अस्तित्वको सम्मान गर्ने साझा स्वभाव छ ।

अरू धेरैका भन्दा अलि ठूला घर हुनु, अलि सुकिलामुकिला लुगा लगाउनु, अरू धेरै मानिसलाई आफूहरूभन्दा अलि सानै हुन् भन्ने मनोविज्ञानले काम गर्नु, धेरैलाई तँ, तिमी भनेर सम्बोधन र व्यवहार गर्नु, अलि बढी नै जग्गा जमिन हुनु, केही कामदारले रैथाने रूपमै काम गरिरहनु, अरू धेरैले गरेभन्दा केही भिन्न प्रकृतिको व्यवहार गर्नु, दुईचार जनादेखि दशबीस जना मानिस अहोरात्र घर वरिपरि भइरहनु, आफ्ना कुरा अलि रबाफिलो शैलीमा भन्नु, सानातिना घरायसी मुद्दामामिलामा धाकरबाफ प्रयोग गरेरै भएपनि निर्णय सुनाउनु र मान्न बाध्य पार्नु इत्यादि केही भिन्नता साहुबाहरूकामा हाम्राभन्दा बढी थिए ।

हाम्रोमा माथि भनिएका त्यस्ता कुराहरू थिएनन् । त्यसैले हामी गाईका साहु त हौँ तर वास्तविक साहु होइनौं भन्ने हामीलाई विश्वास थियो । हाम्रा बाहरू पनि साहुबाहरूका सामु कताकता डराएको मानसिकता बोकेर उपस्थित भएको वा प्रस्तुत भएको देख्दा अनि साहुबाहरूले पनि त्यस्तै व्यवहार गरेको देख्दा पनि लाग्थ्यो हामी पक्कै पनि साहु होइनौँ । त्यसो त सामान्य शिष्टाचार, मान मर्यादाको पालन, स्नेह सद्भावमा उहाँहरूले अन्यथा गर्नुहुँदैनथ्यो । उहाँहरू विद्वान् र बुद्धिजीवी पनि हुनुहुन्थ्यो हामी कुनै पनि कुराको निर्णय गर्दा उहाँहरूलाई शीर्षस्थानमा राख्थ्यौँ । उहाँहरू राजनीति पनि जान्नुहुन्थ्यो देशविदेशका राजनीतिका कुरा गरेर सबैलाई चकित पार्नुहुन्थ्यो । उहाँहरू चिटिक्क परेका लुगा लगाएर बस्ने अति नै लोभलाग्दा देखिनुहुन्थ्यो । हाम्रो बुझाइले गर्दा हाम्रो स्थान कहाँनेर हो भन्ने कुरा त्यतिखेर हामीले खुट्याउन सकेनौँ ।

साहु बाहरूकै विषयमा हाम्रै गाउँकै कतिपयहरूका धारणा र बोलीचाली फरक हुन्थे तापनि हामी धेरै कुरामा उहाँहरूलाई आदर्श ठान्थ्यौं । ठूला घर र साना घरको व्यवहारको स्वाभाविक भिन्नता त्यहाँ प्रकट भएझैँ लाग्थ्यो । हामी बिहान सखारै नुहाएर अरू दशथरि काम सकेर साहु बाका घरतिर जाँदा उहाँहरू भर्खर उठेर हातमुख मात्रै धोएर पटाङ्गिनीमा बसेर चुरोट, तम्बाखु तान्दै वा चियाको चुस्कीसँगै गफ चुटिरहनुभएको हुन्थ्यो । उहाँहरूका कुराकानी र अरू गतिविधिहरू हेर्दै हामीलाई हाम्रो र उहाँहरूको श्रेणी फरक हो भन्ने कुराको प्रारम्भिक आभास हुन्थ्यो । हामी खेतबारीमा गएर अरू सामान्य मानिसले सरह काम गथ्र्यौं तर साहुबाहरूले हामीले जस्तो काम गर्नुभएको हामीलाई थाहा थिएन ।

भान्सामा साहुनीआमाहरूले भान्सा तयार भयो भनेर मधुरो स्वरमा जानकारी गराएपछि हाम्रा सहुबाहरू लँगौटी, धोती बोकेर धारापानीतिर जानुहुन्थ्यो । अबेला बाह्र बजेतिर उहाँहरू भान्सा गर्नुहुन्थ्यो । भान्सा गरेपछि हामी दिनको काममेलापात जान्थ्यौँ तर उहाँहरू भान्सापछि पनि आँगन र पटाङ्गिनीमै गफ गरेर बस्न पाउनुहुन्थ्यो । खोइ हामी सानो छउन्जेल उहाँहरूका घरमा कसले काम गर्छ भन्ने त्यति जानकारी नै पाएनौँ । पछिपछिको अवस्था अलि फरक भयो ती सबै कुरा आजको लेखमा अटेका छैनन् । गाईको विषयलाई लिएर सामाजिक सद्भाव खल्बलिने गरी विभिन्न क्रियाकलाप हुनु देशको निम्ति निकै चिन्ताको विषय हो ।

मानिसलाई उसको अधिकारका बारेमा सचेत गराउँदा उसको दायित्व र मानवधर्मलाई सम्झाउन सकिएन भने हामी नेता होइनौँ र अभियन्ता पनि होइनौँ । सामाजिक सद्भाव बिग्रिइसकेपछिको समय हामी कसैको पनि हुने छैन । अहिले खरो वा लोकप्रिय कुरा गरेजस्तो त्यो समय हुनेछैन ।

सदियौंदेखिको भाइचाराको सम्बन्धमा यताका वर्षमा विभिन्न तत्वहरूबाट जेजसरी विष घोल्ने काम भएको छ त्यसले समाजलाई विखण्डनको यात्रातर्फ डो¥याइरहेको त होइन भन्ने चासो र चिन्ता बढेको छ । हामी एकातिर अधिकारको कुरा गरिरहँदा कर्तव्य र अनुशासनको पाटोलाई बिर्सिएर अगि बढ्दै छौं कि भन्ने विषयले पनि चर्चा पाएको अवस्था छ । आफ्नो अधिकारका कुरा गर्दा अरूको अधिकारको हनन हुने लोकतन्त्र हाम्रो लोकतन्त्र होइन । सबैका विचार, व्यवहार र आचारलाई सम्मान गरेर जानुपर्नेमा त्यसो नभएर आगोमा घ्यू थप्ने काम सबैपक्षबाट भएको कुरा साँच्चै चिन्ताको विषय हो । कुनै पनि प्रकारको अतिवाद, पूर्वाग्रह र प्रतिशोधका कर्म र प्रतिक्रियाले हाम्रा मूल्य र मान्यतामाथि कुठाराघात हुँदै गइरहेकोतर्फ सम्बद्ध सबै पक्ष समयमै सजग र संयमित नहुने हो भने त्यसको परिणति भयावह हुन सक्छ ।

कुनै कुरा सुन्दा चसक्क मनमा घोच्नु र त्यसको प्रतिकारमा कुनै निर्णय गरिनु मानवीय स्वभाव हो । के उचित हो के अनुचित हो भनेर पर्गेल्नु बुद्धि र विवेकको कुरा हो । त्यही कुरालाई लिएर मानिसको संवेदनामाथि प्रहार गरियो भने समवेदनाको प्रतिरोध प्रिय हुँदैन । कुनै कुरा हामीलाई राम्रो लाग्दा अरू कसैलाई त्यही कुराले पीडा दिइरहेको कुरालाई मनन गर्न सकिएन भने हामीले सहअस्तित्वको भावनालाई बुझ्न नसकेको ठहर्छ । मानिसलाई उसको अधिकारका बारेमा सचेत गराउँदा उसको दायित्व र मानवधर्मलाई सम्झाउन सकिएन भने हामी नेता होइनौँ र अभियन्ता पनि होइनौँ । सामाजिक सद्भाव बिग्रिइसकेपछिको समय हामी कसैको पनि हुने छैन । अहिले खरो वा लोकप्रिय कुरा गरेजस्तो त्यो समय हुनेछैन । हामी आफैँले निम्त्याउने अनीष्टबाट बँच्न समयमै सचेत बनौँ ।

हाम्रा पौरस्त्य शास्त्रमा गावो विश्वस्य मातरः भनिएको छ । वेद, स्मृतिशास्त्र, विभिन्न पुराणहरू, भगवद्गीता आदि ग्रन्थमा गाईका विषयमा विशद चर्चा गरिएको छ । धर्मग्रन्थमा गोदानलाई सबैभन्दा ठूलो पुण्यकर्म मानिएको छ । भगवान् श्रीकृष्णले आफूलाई गाईहरूमा म कामधेनु गाई हुँ भनेका छन् । ठूलाठूला राजामहाराजहरूका सभामा शास्त्रार्थ गरी ऋषिमहर्षिहरूले हजारौं हजार असर्फीका थालीभन्दा गाईलाई श्रेष्ठ ठानेर गाईहरू पारितोषिक लिएर सहर्ष फर्किएकाप्रसङ्ग विभिन्न पौराणिक एवम् स्मृतिग्रन्थहरूमा पढ्न पाइन्छ ।
बाल्यकाल र किशोरकाल पार गरेर उमेरले यता धेरै लामो उकालो चढिसकेको छ तर सम्झना उनै बालवयका छन् । जतिपटक म गाउँतिर जान्छु त्यति नै पटक आफू जन्मे हुर्केको भूमिलाई ढोगेरै आउँछु । यसो गर्दा पापबोध अलि कम भएको लाग्छ । कुनै समयमा आइपुग्दा मानिसलाई आफूले गुमाएका कुरातर्फ बढी ध्यान जाँदो रहेछ । मलाई अहिले त्यो बहुगुणी जनावर गाई र मेरो त्यो वंशपरम्पराको सम्झना भइरहेको छ । आजको जस्तो अवस्थामा त हाम्रा पुर्खाले सगौरव गाईसाहु हौँ भन्न पनि सक्ने रहेनछन् !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. सबै लेख पढियो असाध्यै राम्रो लाग्यो । प्राडा सरलाई धन्यवाद । यस्तो उत्कृष्ट लेख पस्केकोमा ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?