द्वन्द्वपीडितको थामिएन आँशु, भन्छन्- पिरको दबाई रैनछ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । ‘सबैको दबाई हुँदो रैछ, पिरको हुने रैनछ’ यो भनाई द्वन्द्वरत पक्षबाट ११ वर्षीया छोरी वेपत्ता पारिएकी आमा सरस्वती विकको हो ।

२०५८ सालमा सरस्वतीका छोरी अनिता विकलाई नेपाली सेनाले सरस्वतीकै अगाडीबाट अपहरण गरेको थियो । आफ्नै आँखा अगाडी अपहरणमा परेकी छोरीको अवस्था सार्वजनिक हुनुपर्ने माग गर्दै आएकी सरस्वती बुधबार बलपूर्वक वेपत्ता पारिएका व्यक्तिहरुको १३ औँ अन्तराष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमको रोस्टममै पुगेर भक्कानिनु भयो । चाउरिएका अनुहार । बुढेसकाल र चिन्ताले गलेको अशक्त शरीर लिएर छोरीको न्यायका लागि हिड्नु भएकी गलकोटकी सरस्वती विकले न्याय पाउन नसकेको गुनासो गर्नुहुन्छ ।

वि.सं. २०५८ मा आँखै अगाडिबाट अपहरणमा परेकी ११ वर्षीया छोरी अनिता विकको अवस्था अहिलेसम्म अज्ञात छ । छोरीको खोजीका लागि सरस्वती अड्डा, अदालत र वकिल कहाँ सयौँ पटक पुगे पनि कसैले न्याय दिलाउन नसकेको बताउनुभयो ।

बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विककी विकलाई सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले अपहरण गरेको थियो । राज्यले द्वन्द्व पीडित भनेर राहत दिए पनि त्यसले छोरीको झल्को मटाउन नसक्ने उहाँले बताउनुभयो । सरकारले अहिलेसम्म जिउँदो मरेको केहो अवस्था भन्ने जानकारी गराउन नसकेको दुखेसो पोख्नु भयो ।

कार्यक्रममा आफ्ना कुरा राख्न रोस्टममा पुग्नु भएकी विकले भक्कानिदै भन्नुभयो, ‘आज कार्यक्रमको लागि बोलाउँदा पनि मेरो छोरी भेट्टिएछ भन्ने लागेको थियो, विहान हुँदा पनि रात पर्दा पनि छोरीले आमा भन्दै आउँछे की जस्तो लाग्छ, तर उ हराएको धेरै वर्ष भयो, सरकारले द्वन्द्व पीडित भनेर १० लाख रुपैयाँ दियो, गाउँले छोरी हराएर पैसा लिएर घर बनाइ भन्ने आरोप लगाउँछन्, बुढा पनि छोरीकै पिरले चार वर्ष अगाडि मरे, सबैको दबाई रैछ ।’

एक पटक छोरी कहाँ छ ?, कुन अवस्थामा छ भन्ने जानकारी पाए पनि मनमा शान्ति हुने विक बताउनुहुन्छ । सरकारले वेपत्ता भएका व्यक्तिको छानबिनका लागि आयोग गठन गरे पनि अहिलेसम्म कुनै पनि काम नगरेको विकको गुनासो छ । बरु राज्यले केही गर्न सक्दैन भने मन भए धार्जे हुने भन्दै द्वन्द्व पीडितका लागि भन्दै बेला बेलामा आयोजना हुने कार्यक्रमले निको हुन लागेको घाउ बल्झाउने उहाँको भनाइ छ ।

ADVERTISEMENT

सशस्त्र द्वन्दका बेला श्रीमान वेपत्ता भएपछि तमानखोला गाउँपालिका–२ बोङ्गादोभानकी देवीसर सिउठानी पनि न्याय खोज्दाखोज्दै हैरान हुनु भएको छ । उहाँले विदेशबाट फर्किने क्रममा तत्कालीन माओवादीले म्याग्दीबाट आफ्ना श्रीमान रनबहादुर सिउठानीलाई वेपत्ता पारेको बताउनुभयो । घरको मुख्य मान्छेनै वेपत्ता भएपछि परिवार चलाउन हम्मेहम्मे हुने गरेको उहाँको भनाइ छ । हाल एउटा छोरा मात्रा आफ्नो साथमा रहेको सिउठानीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘द्वन्द्वकालमा घरको कमाउने मान्छे वेपत्ता बनाई दिए, दुःख संघर्ष गरेर छोराछोरी हुर्काए छोराछोरीले श्रीमानको रित्तो ठाउँ भर्छन् भनेर सबैले सम्झाउँथे सिउठानी भन्नुहुन्छ भन्नेहरुले भनेजस्तो सजिलो कहाँ छ र विदेशबाट घर हिडेको बुढो मलाई त अहिले पनि आउँछन् की जस्तो लाग्छ ।’

तत्कालीन माओवादीले सिउठानीका श्रीमान रनबहादुरलाई वि.सं. २०६२ मा म्याग्दीबाट अपरहण गरि वेपत्ता बनाएको थियो । सशस्त्र द्वन्द्वका बेला बागलुङका धेरै नागरिक वेपत्ता भएका थिए । अहिले पनि २१ जना वेपत्ता रहेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले द्वन्द्वपीडितको न्यायका लागि प्रशासन तत्पर रहेको बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका सभापति यमदत्त कँडेल, वरिस्ठ अधिवक्त काजीगाउँले श्रेष्ठ, एडभोकेसी फोरम गण्डकी प्रदेश संयोजक कुन्टरी परियार, अधिवक्ता लक्ष्मी जिसी कार्की, उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा अधिवक्त राम शर्माले कार्यक्रममा बारेमा जानकारी दिनु भएको थियो । द्वन्द्वपीडित देवीसर सिउठानीको अध्यक्ष, इन्सेक बागलुङ प्रतिनिधि सिर्जना पन्तको स्वागत र न्यायका लागि द्वन्द्वपीडित महिला संजालकी सावित्री खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज