बागलुङ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले कुनै पनि मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आवद्ध स्थानीय बाढीले घर, पुल र खरि खाने बारीनै बगरमा परिणत गरि दिएपछि अहिले उनीहरुको हातमुख जोड्ने माध्यम केही छैन ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्क अनुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पुर्याएको छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न संघ संस्थाको कार्यालयमा क्षति पुर्याएको थियो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैचा र सिंचाइ कुलोमासमेत ठूलो क्षति पुर्याएको छ ।
गाउँपालिकाको कृषि शाखाको तथ्याङ्क अनुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, खुर्पानी, ओखर र नास्पाती लगायतका फलफूल बोट क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी ३ कठ्ठा बढीमा लगाइएको स्याउ लगायतका फलफूलमा क्षति पु¥याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १ सय ६९ वटा भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी, ७१ वटा भन्दा बढी खुर्पानीको बोट नष्ट भएको उहाँका भनाइ छ ।
बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुंगा नमडुल गुरुङ ,पेमा निङ्वो बिष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको धामी बताउनुहुन्छ । उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उहाँको भनाइ छ । कृषि बाढीले स्याउ लगायतका कृषि उत्पादन हुने खेती योग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब ७ हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको धामीले जानकारी दिनुभयो ।
गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ । उहाँका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने ९ वटा हाते ट्याक्टरसमेत बाढीले बगाएको उहाँ बताउनुहुन्छ । बाढीले स्याउका बोट, बगैचा, विभिन्न कृषि उकरण र सिंचाइ कुलो बगाउँदा करिब एक करोड बढीको क्षति भएको धामीको भनाइ छ ।
उहाँ भन्नुहुन्छ– ‘यहाँका धेरै स्थानीयको मुख्य आय स्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैचामा ठूलो क्षति पुर्याएको छ, हामीहरुले धेरै दिन लगाएर क्षति विवरण संकलन गरेका छौँ, कोहीको बगैचा बगाएको छ, कोहीको स्याउ, खुर्पानी र नास्पातीको बोट बगाएको छ, सिंचाइ कोलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।’
बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिनुभयो । बाढीले २३ गोठ वटा, ३२ वटा लुलु गाई, २ वटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताउनुभयो । यसबाट करिब ५० लाख बढीको नोक्सानी भएको उहाँको भनाइ छ ।
बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा भौतिक पूर्वाधार गरि २१ करोड दुई लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइस वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक रुपमा क्षति भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts