काठमाडौं । निबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्धसंग्रह ‘संवेदनाको समायोग’ कृतिमाथि विमर्श गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच गरिएको कृतिको विमर्श गरिएको हो । दुई सत्रमा गरिएको कार्यक्रममा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती सरस र सुधा शर्माले पाठकीय प्रतिक्रियाका रूपमा पठन अनुभूति व्यक्त गर्नुभएको थियो । यस कार्यक्रमको सञ्चालन महेश क्षितिजले गर्नुभएको थियो ।
यसैगरी दोस्रो सत्र विमर्श-संवादमा वक्ताका रूपमा त्रिविका उपप्राध्यापक कुमारी लामा र डा.अशोक थापाले बहस गर्नुभएको थियो । यस सत्रको सहजीकरण पत्रकार राजकुमार बानियाँले गर्नुभएको थियो ।
पाठकीय प्रतिक्रियाका साथ भएको यस बहसमा पुस्तकको रचना, शिल्प, शैलीभन्दा पनि महिला र पुरुषवाद बढी चर्चा भए पनि सहजकर्ता र सबै वक्ताले ज्ञानु अधिकारीको यस निबन्धकृतिमा पाठकको मनमस्तिष्क हल्लाउने सामथ्र्य रहेको र आत्मपरक निबन्धको इतिहासमा यो कृति विशिष्ट रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा निबन्धकार ज्ञानु अधिकारीले उठेका जिज्ञासाहरूको उत्तर दिँदै ‘समालोचना र निबन्ध फरक विधा हो, यी निबन्धमा म स्वतन्त्र भएर पोखिएकी छु’ भन्ने धारणा राख्नुभएको थियो । वक्ताहरूलाई सम्मानोपहार प्रदान गरिएको सो कार्यक्रममा सभापति र प्रमुख अतिथि कुनै नराखिएको ओैपचारिक-अनौपचारिक र पृथक किसिमको थियो ।






