खोटाङ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा स्तनपान कक्ष स्थापना गरिएको छ । महिला कर्मचारीहरुले कार्यालय समयमा शिशुलाई दूध खुवाउनका लागि स्तनपान कक्ष स्थापना गरिएको हो ।
महिला कर्मचारी तथा कार्यालयमा काम लिएर आउने महिलाहरुले शिशुलाई स्तनपान गराउन र नियमित बनाउन केहीदिन अघिबाट एउटा कोठामा कुर्सीहरु, टेबल र बेन्च राखेर स्तनपान कक्ष स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताउनुभयो ।
सरकारी, गैरसरकारी वा निजी संघसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने कुरा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ ।
खोटेहाङ गाउँपालिकाले बैशाख अन्तिमबाट पालिका भित्र स्तनपान कक्ष सञ्चालनमा ल्याएको थियो । खोटेहाङपछि दोश्रोमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले स्तनपान कक्ष स्थापना गरेको छ ।
मानिसको भिडभाड र चहल पहल हुने राष्ट्रिय वाणिज्य बैंक, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयसहित अन्य स्थानीय तहमा स्तनपान कक्ष छैन ।
५ भदौमा जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखको बैठकमा पनि प्रत्येक सरकारी कार्यालयले स्तनपान कक्ष अनिवार्य स्थापना गर्नुपर्ने विषय उठेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts