-मोहम्मद हबिब
भैरहवा । सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ बनेको छ ।
पर्यटकलाई लक्षित गरी सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाउने भनि बनाइएको सिद्धार्थ राजमार्गमा अवस्थित गेट नजिकै अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापन गर्ने गरेको छ । नाकाबाट केही दुरी भित्र रहेको प्रवेशद्वार बुद्धत्व झल्कने लक्ष्यले बनाइए पनि अहिले सोही नगरपालिकाले नगरको फोहोर नै गेट नजिकै फाल्दै आएको छ ।
अहिले दैनिकरुपमा सिद्धार्थनगरबाट उत्सर्जन भएको फोहोर नगरपालिकाले गेट नजिकै डण्डा नदीको किनारमा नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । केही समयदेखि सिसाको टुक्रा संकलन केन्द्र बनेको सो क्षेत्रमा अहिले सिसासँगै फोहोरको डम्पिङ क्षेत्र बनेको छ ।
गोरखपुरबाट साथीहरूसँग समूह बनाएर आएको प्रमिन्दर पनि फोटो खिच्न भनेर मंगलबार गाडीबाट ओर्ले तर फोहोरको गन्धका कारण उहाँ केही मिनेटमै गाडी चढी भैरहवातर्फ हानिनुभयो । गेट नजिकै पर्यटक रोकुन र केही समय भुलाउन भन्ने नगरपालिकाको मनसायले गेट बनाए पनि अहिले नगरपालिकाले नै पर्यटक भगाउने रणनितिमा लागेको देखिन्छ ।
सिद्धार्थनगर नगरपालिकाले वर्षौदेखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएको थियो । फोहोरले स्थानीय प्रभावित भएसँगै वडा नम्बर १ र २ का बासिन्दाले फोहोरको गाडी प्रवेश नै रोक लगाई विरोधमा उत्रेका थिए । यसअघि पनि स्थानीयले पटक पटक विरोध जनाएकोमा विभिन्न सहमतिमा विगत तीन दशकदेखि नियमित रुपमा नगरको फोहोर सोही क्षेत्रमा व्यवस्थापन हुँदै आएको थियो । अहिले स्थानीयले गरेको विरोधसँगै नगरपालिकाले फोहोर डम्पिङ क्षेत्रको स्थान नै परिवर्तन गरेको छ ।
सिद्धार्थनगर नगरपालिकाका फोहोर व्यवस्थापन प्रमुख अधिकृत केशव पौडेलले पुरानो ठाउँमा स्थानीयले गरेको अवरोधका कारण साउन ४ गतेबाट सिद्धार्थ राजमार्ग नजिक पर्यटकीय गेटको पश्चिम तर्फ नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको बताउनुभयो । उहाँले अहिले नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा टयाक्टरमार्फत पठाउने, खाल्डोमा फोहार राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको बताउनुभयो ।
सार्वजनिक जग्गा हो भन्ने सुन्नमा आएको डम्पिङ क्षेत्रमा उहाँले गन्ध नआओस् भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरेको बताउनुभयो । पहिलाको ठाँउमा स्थानीयले अवरोध गरी फाल्न नदिएपछि अहिले यो क्षेत्रमा फोहोर व्यवस्थापन हुदै आएको अधिकृत पौडेलले भन्नुभयो ।
पौडेलका अनुसार सिद्धार्थनगरमा दैनिक ३० टनको हराहारीमा फोहोर उत्सर्जन भई नगरपालिकाले करिब सय जना जनशक्ति लगाएर १२ वटा टयाक्टर, ठेला र कुचीकारहरूबाट फोहोर संकलन गर्ने गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १ का अध्यक्ष उज्जवल पोखरेलले गेट नजिकैको सो क्षेत्रमा पहिला देखिनै सिसाको कवाड (फोहोर) संकलन गरी वातावरण नै प्रभावित बनेकोले पटक पटक हटाउने प्रयास गरेपनि नमानेपछि रिसीबीको कारण जरिवाना स्वरुप नगरको फोहोर सोही क्षेत्रमा फाल्न दिएको बताउनुभयो । वर्षौदेखि नगरको फोहोर वडा नं. १ मै फलिरहेको छ- झण्डी बजार होस या पर्यटकीय गेट नजिकै । फोहोरको कारण स्थानीय नैडिहवा र हर्नैया क्षेत्रको नागरिकमा असर परेको क्षेत्रमा अहिले नगरपालिकाले स्वास्थ्य विमाको लागि बजेट छुटयाएको उहाँको भनाइ छ ।
उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने नुन फोहोर फालेको केही दुरीमै भण्डारण गरि राखिएको छ । खुला रुपमा फालिएको असर नैडिहवा गाँउसम्म परेपनि नजिकै रहेको नुनमा भने यस्को असर पक्कै परेको छ । उपभोक्ताको स्वास्थ्य प्रत्यक्ष असर पर्ने गरि नुन भण्डारण समेत सो क्षेत्रमा गर्दा उच्च जोखिम छ ।
साल्ट टेड्रिङ कर्पोरेशनका सहायक महा प्रबन्धक हरि चन्द्र श्रेष्ठले गेट नजिकै साल्ट ट्रेडिङले नुन भण्डारण गर्दै आएको बताउनुभयो । विक्री वितरण नगरेर संचिति गर्नका लागि हामीले त्रिपालले ढाकेर नुन राख्ने गरेका छौ, त्यस्तो ठाँउमा नगरपालिकाले फोहोर व्यवस्थापन नगर्नु पर्ने उहाँले बताउनुभयो ।
सिद्धार्थ राजमार्ग र डण्डा नदीको पुलसँगै रहेको सो फोहोर फालेको क्षेत्र नजिकै सशस्त्र प्रहरीको पनि युनिट छ । गन्धको असर राजमार्ग आवगमान गर्नेलाई परेपनि सधै चेकजाँचमा खटेका सुरक्षाकर्मीलाई पनि पर्ने गरेको छ । एक सुरक्षाकर्मीले भने ‘हामीलाई त सिद्धार्थनगरको फोहोरले पिछा छोड्ने भएन गणमा हुदा उता फोहोरले सास्ती भोगेका थियौ, अहिले यहाँ पनि सोही समस्या रहेको छ ।’






