धादिङ । धादिङको १३ वटा स्थानीय तहहरुमा ९६ प्रतिशत मात्र रोपाइँ भएको छ । भदौ महिना शुरु भैसक्दा समेत धादिङमा यो वर्ष ९६ प्रतिशत मात्र धान रोपाइँ भएको हो । धादिङ जिल्लाभर ११ हजार ५ सय ७६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएकोमा यो वर्ष ९६ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ ।
समयमै पानी नपर्दा र रोपाइँ ढिला हुँदा यो वर्ष धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताउनुभयो।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा ५० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । खोला खेत बाहेक ढिलो गरी रोपाइँ भएका टारी खेतहरुमा अघिल्लो वर्षहरुको तुलनामा उत्पादन घट्ने देखिएको छ ।
कृषि ज्ञान केन्द्रले ९६ प्रतिशत खेतमा रोपाइ भएको भनेपनि स्थानीय पालिकाहरुले भने एकिन तथ्यांक नै दिन सकेको छैन । खहरे खोला लाग्ने खेतहरु र पखेरा खेतहरुमा रोपाइँ हुन नसकेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् ।
धान उत्पादनको मुख्य क्षेत्र मानिएको नीलकण्ठ नगरपालिका, सिद्दलेक गाउँपालिका, गजुरी गाउँपालिका र धुनिबेसी नगरपालिकाका टारी खेतहरु यो वर्ष रोपिएका छैनन् । यी पालिकाहरुमा उत्पादन घटेपछि जिल्लाभरकै उत्पादनमा कमी आउने देखिएको छ ।
धादिङमा साबीत्री, मकवानपुरे, सुख्खा १, राधा ४, राम, हर्दिनाथ १, हर्दिनाथ २, खुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता